कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि धादिङमा अहिले निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञाका कारण अहिले सबै मानिस घर भित्र बसिरहेका छन् । सबैतिर आवातजावत बन्द भएपछि सबै फुर्सदिला बनेका छन् ।

यहि फुर्सदको समयलाई सदुपयोग गर्दै निलकण्ठ नगरपालिका वडा नम्बर १० नयाँ गाउँका स्थानियहरुले उदाहरणिय कार्य गरेका छन् । वर्षाैदेखी ममर्त हुन नसकेको बाटो नयाँ गाउँका स्थानियहरु आँफै मिलेर मर्मत गरेका छन् । वर्षेनी वर्षातको समयमा हिड्डुलमा समस्या हुने भएपछि यो निषेधाज्ञाको समयलाई सदुपयोग गर्दै बाटो मर्मतको काम सम्पन्न गरेको स्थानिय युवा भक्त शाक्यले जानकारी दिनुभयो ।

आफ्नो गाउँको विकासको लागि आँफै मिहेनत गर्नुपर्छ, कसैले आएर गर्दिन्छकी भन्ने मानसिकता लिएर बस्यो भने गाउँको विकास कहिल्यै नुहने युवा भक्त शाक्यले बताउनुभयो । आफ्नो गाउँ आँफै बनाऊ भन्ने अभिप्रायका साथ सम्पूर्ण स्थानियहरु मिलेर बाटो ममर्तको काम सम्पन्न गरेको उहाँले बताउनुभयो ।

स्वास्थ्य सुरक्षाको सम्पूर्ण मापदण्ड पालना गर्दै स्थानियहरु मिलेर १ सय ६० मिटर लामो मोटर बाटो निर्माण सम्पन्न गरेको शाक्यले बताउनुभयो । कुनै पनि राजनितक दल, सरकार तथा संस्थालाई सहयोगको लागि अपिल नगरी नै सामुहिक श्रमदान गरेर पक्की सोलिङ अथार्त सडकमा ढुङ्गा बिछ्याउने काम गरिएको उहाँले बताउनुभयो ।

३ दिनको लगातार मेहनत पछि अहिले हिंड्न् र बाह्रै महिना गाडी गुडाउनको लागि सजिलो हुने भएपछि स्थानियहरु हर्षित छन् । गाउँमा कोही विरामी भएर अस्पताल सम्म लैजानको लागि एम्बुलेन्सलाई समेत समस्या हुने भएपछि स्थानियहरु आँफै मिलेर बाटो मर्मत गरेका हुन् ।

Facebook Comments