
स्थानीय स्वायत्त शासन नियमावली, २०५६ मा वडा सदस्यको कामकर्तव्य नगरपालिका तथा गाउँपालिकाको योजना एवं कार्यक्रम बनाउन अध्यक्ष वा प्रमुखलाई सहयोग गर्ने, वडावासीलाई जानकारी गराउने, प्रमुख तथा अध्यक्षले तोके बमोजिमको काम गर्ने भनिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन् २०७४ मा पनि स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडाअध्यक्षको काम स्पष्ट पारिए पनि वडा सदस्यको बारेमा भने विस्तृत खुलाइएको छैन । स्थानीय सरकारका जनप्रतिनिधिहरूले आफ्नो कार्यकालको आधाभन्दा बढी समय बिताइसकेका छन् । तर अझैँ पनि कतिपय जनप्रतिनिधिलाई आफ्नो अधिकार र जिम्मेवारी के हो भन्ने बारेमा जानकारी नै छैन । तीनै जनप्रतिनिधि मध्ये पर्छन्, अधिकांश वडा सदस्यहरु ।
वडा सदस्यहरु आफ्नो काम कर्तव्य र अधिकारबारे अनविज्ञ हुदा वडाले बोलाएको बैठकमा सहभागी हुने र बैठकको निर्णयमा हस्ताक्षर गर्ने बाहेक घरायसी काममै समय विताउने गरेका छन् । कतिपय वडा सदस्यहरुलाई वडामा भएका विवाद र झैझगडा समाधान गर्ने आफ्नो मुख्य काम हो भन्ने लाग्छ । यद्यपी विवाद निरुपणको जिम्मा न्यायिक समितिलाई छ ।
धादिङको नेत्रावती डबजोङ गाँउपालिका वडा न ३ का वडा सदस्य वक्लवती तामाङले वडा अध्यक्षले अह्राएको जिम्मेवारी मात्रै आफ्नो काम हो भन्ने बुझ्नुभएको छ । वडाको बैठक बस्ने र निणर्यमा हस्ताक्षर गर्ने बाहेकका अरु काममा संलग्नता नरहेको उहा बताउनुहुन्छ । नागरिकले हामीबाट धेरै अपेक्षा राखे पनि पुरुष जनप्रतिनिधिको हेपाहा प्रवृतिका कारण चाहेर पनि त्यो अपेक्षा पुरा गर्न नसकिने अवस्था सृजना भएको उहाले दुखेसो पोख्नुभयो ।
धादिङकै निलकण्ठ नगरपालिका वडा नम्वर ८ का वडा सदस्य कल्पना विक आफ्नो जिम्मेवारी र अधिकारबारे अनविज्ञ हुनुहुन्छ । उहा अधिकांश समय घर अनि खेतबारीको काममै व्यस्त देखिनुहुन्छ । आफूले के काम गर्ने हो भन्ने बारेमा कुनै माध्यमबाट पनि हालसम्म नसुनेको बताउनुभयो । उहालाई लाग्छ की आफूहरूको जिम्मेवारीका बारेमा कसैले खुलस्त पारिदियोस् । जनताको सेवा गर्न भनेर चुनाव जितेर त आइयो तर हामी दलित महिला सदस्यको कुनै भूमिका नै छैन’ विक बताउनुहुन्छ ।
यस्तै त्रिपुरासुन्दरी गाउपालिका वडा नम्वर ७ का वडा सदस्य पार्वती विश्वकर्माले आफूहरूलाई पुरुष जनप्रतिनिधीहरूले ओझेलमा पारेको गुनासो गर्नुभएको छ । उहाँ भन्नुहुन्छ–‘म वडा सदस्यका साथै कार्यपालिका सदस्य पनि हँु, जनताको गुनासो र काम लिएर गाँउपालिका र वडा कार्यालयमा जाँदा हाम्रो कुरालाई कुनै महत्व नै दिइन्नँ।’ वडाको योजना छनोट वा बजेट विनियोजनमा आफूहरूको कुनै राय सल्लाह नलिइन वडाध्यक्षले आफूखुसी निर्णय गर्ने गरेको विश्वकर्मा बताउनुहन्छ । महिला जनप्रतिनिधिका राय सुझाव र प्रस्तावलाई पुरूष जनप्रतिनिधिले एक कानले सुन्ने र अर्को कानले उडाइ दिने गरेको विश्वकर्माले दुखेसो पोख्नुभयो ।
कार्यपालिका सदस्य भएर पनि विभेद खेप्नु परेको गुनासो गर्दै अन्य वडा सदस्यहरुको अवस्था झन् नाजुक रहेको बताउनुभयो । वडाका महिला सदस्यहरुले वडामा बैठक छ भनेर खबर नै गर्दैनन्, कहिलेकाँही खबर गरिहाले पनि बैठकमा जाँदा हामी महिलाको कुरा नसुन्ने गुनासो गर्ने गरेको विश्वकर्माले बताउनुभयो । विश्वकर्माका अनुसार वडाका सदस्यहरु वडाको बैठक भए आउछन् अनि हस्ताक्षर गरेर फर्कन्छन्, त्यसभन्दा बाहेक उनीहरु आफ्नै घर व्यवहारमै व्यस्त हुन्छन् ।
निलकण्ठ नगरपालिका वडा नम्वर ११ का वडा सदस्य शान्ता रोक्काको उस्तै गुनासो छ । नगरपालिकाको योजना छनोट वा बजेट विनियोजनमा आफूहरूको कुनै राय सल्लाह नलिइन नगर प्रमुखले आफूखुसी निर्णय गर्ने गरेको बताउनुभयो । आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम निर्माणको लागि सुझाव संकलन गर्न नगरपालिकाले सार्वजनिक सुनुवाइ गरेको रैछ । हामीलाई केही खबर नै भएन । पछि रेडियोमा समाचार आएपछि मात्र नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमबारे थाहा पाएको रोक्काले बताउनुभयो ।
नगरपालिकाले कहिलेकाँही बैठकमा बोलाउछन् तर बैठकमा हामीले राखेको कुरालाई त्यत्ति वास्ता गर्दैनन् । नगरप्रमुख र वडा अध्यक्षहरुले नै बैठकको विषयबारे छलफल गर्ने गर्छन् हामी बैठकको निर्णयमा हस्ताक्षर गर्दै ताली बजाएर फर्किने गरेको उहाले बताउनुभयो ।
धादिङमा २ नगरपालिका र ११ गाउँपालिका गरी कूल १३ स्थानीय तह छन्। धादिङको सबै १३ वटै स्थानीय तहको प्रमुखमा पुरूष नै छन् भने १३ मध्ये ११ स्थानीय तहको उपप्रमुखमा महिला छन् । २ वटा स्थानीय तहको उपप्रमुखमा भने पुरुष नै छन् । सबै वडाको अध्यक्षमा पनि पुरुष नै निर्वाचित छन् । धादिङको स्थानीय तहमा महिलाको उपस्थिति रहे पनि स्थानीय सरकारले गर्ने निर्णय प्रक्रियामा आफूहरूलाई साक्षीका रूपमा मात्र सहभागी गराउने गरेकोे महिला जनप्रतिनिधिको गुनासो छ ।
स्थानीय तहहरूमा निर्वाचित अधिकांश महिला जनप्रतिनिधिको आफूहरूलाई पुरुष जनप्रतिनिधीहरूले ओझेल पारेको गुनासो छ । त्यसमा पनि स्थानीय तहका वडा र कार्यपालिकाको वडामा निर्वाचित दलित महिला सदस्यहरूले भने आफूहरूलाई अझ भूमिकाविहीन बनाइएको बताउछन् । क्षमताको अभाव र जनप्रतिनिधीहरु बिचको समन्वय नहुँदा वडा सदस्यहरु कामविहीन कै अवस्थामा छन् । आफ्नो काम, कर्तव्य र अधिकार बारे अनविज्ञ हुदा अध्यक्ष वा प्रमुखको आदेश कुरेर बस्ने गरेको पाइएको छ ।