
१० बर्षे जनयुद्ध सकिएर शान्ति सम्झौता भएको पनि १५ बर्ष पुरा भएको छ । जनयुद्ध सकिएर विक्रमसम्वद २०६३ साल मंसिर ५ गते देशमा शान्ति सम्झौता भएको थियो । यो समय आज १५ बर्षमा पुगेको छ । यो १५ बर्षमा देशमा राजनीतिक रुपमा धेरै परिवर्तन भएका छन् ।
आज समृद्धि र समाजवादका कुरा सबै राजनीतिक दलको सामुहिक नारा बनेको छ । तर त्यहि जनयुद्धमा लडेकाहरुको भने अवस्था जस्ताको त्यस्तै छ । जनयुद्धका घाइते,अपांङ र शहीद परिवारको अवस्था,वेपत्ताको अवस्थामा भने खासै परिवर्तन आएको छैन ।
द्धन्द्धमा विभिन्न तरिकाले मानिसहरु पीडित बनेका छन् । तीनै मध्येका एक हुन् धादिङको गजुरी गाउँपालिका वडा नं २ डुडेठाटीका किशोर मिजार । द्धन्द्धकै बेलामा नेपाली सेनाको गोली लागेर घाइते भएका मिजार जीवनमरणको अवस्थाबाट बाँचेर घर त फर्कनुभएको छ तर सेनाको गोलीले मिजारको शरीरमा सरभाइकल इन्जुरीका कारण दुवै खुट्टा र एउटा हात नचल्ने भएपछि ओछ्यानमै थलिनुभएको छ । खान, बस्न, शौच गर्न, अन्य क्रियाकलापका लागि दोस्रो व्यक्तिको सहारा लिनुपर्छ ।
२०६० साल भदौं २४ गते मिजारलाई तत्कालिन माओवादीको कार्यकर्ता भन्दै घर नजिकै बसिरहेको समयमा सेनाको टोलीले गोली हान्दा मिजारको घाँटीमा लागेको थियो । गोली लागेर ढलेका मिजारलाई नेपाली सेनाले नै उद्धार गरि हेलिकप्टरमार्फत काठमाण्डौंमा पु¥याएका थिए । विरेन्द्र सैनिक अस्पतालमा सेनाकै निगरानीमा ८ वर्षको उपचारपछि मिजारलाई घर फर्काइएको हो ।
अस्पतालले लङ लाइभ इन्जुरी भनेर प्रमाणित गरेपछि घरमा नै फर्काइदिएको मिजारले बताउनुभयो । अस्पतालको बसाइबारे आफ्नो अनुभव सुनाउदै मिजारले भन्नुभयो– ‘अस्पतालको आठ वर्ष बसाइ जेलको घेरामा बसेको जस्तै थियो, तत्काल उपचार नपाएको भए त्यतिबेला नै जीवनको समाप्ति हुने थियो, अस्पतालमा पुगेपछि दोस्रो जुनी पाए ।’
सामान्य परिवारमा जन्मिएका मिजारले आर्थिक अवस्थाका कारण पढाई पूरा गर्न सक्नुभएन ।
२०५१ सालमा रोजगारीको लागि सात वर्ष भारतमा बिताएको मिजारले बताउनुभयो । भारतका विभिन्न ठाउँमा बसेर काम गर्दा सोचेजस्तो नभएपछि २०५७ सालमा आफ्नै देशमा फर्किनुभएका मिजार देशमा परिवर्तन ल्याउनुपर्छ भन्दै साथीहरुको सल्लाहमा तात्कालिन एकिकृत माओवादी पार्टीमा आवद्ध हुनुभयो । त्यतिबेला द्धन्द्धकालको अवस्था थियो । द्धन्द्धकै बेलामा नेपाली सेनाले गोली हानेर उहा एकै औछ्यानमा थलिनुभएको छ ।
हातखुट्टा नचल्ने भएपछि ओछ्यानमै थलिएर बस्न पट्यार लाग्ने मिजारले बताउनुभयो । कहिलेकाही बाहिर हिडडुल गर्न मन लागे पनि ह्वील चियर नहुदा ओछ्यानमै थन्किएर बस्नुपर्दा पीडा हुने गरेको मिजारले दुखेसो पोख्नुभयो । मिजारको त्यो पीडालााई कम गर्न सहयोग गरेको छ अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको बिहानी परियोजनाले । बिहानी परियोजनाले एकै ओछ्यानमा थलिनुभएका मिजारलाई ह्वील चियर प्रदान गरेको छ ।
जसको सहारामा मिजार अहिले ओछ्यानबाट घर बाहिर निस्केर हिडडुल गर्नुहुन्छ । पहिलेको जस्तै सधै अरुको सहारा लिनु नपरेको मिजारले बताउनुभयो । मिजारले भन्नुभयो– ‘सधैँ एकै ओछ्यानमा गुजारिरहनुपर्ने त्यो अवस्थाबाट अलि अलगिएको छु ।’ सरकारले आफूजस्ता अपांगता भएका व्यक्तिलाई निशुल्क सामग्री तथा प्रोत्साहनको क्रियाकलाप गर्नुपर्ने मिजार बताउनुहुन्छ ।
मिजारको साथमा श्रीमती र एक छोरा छन् । आफन्त, छिमेकीहरुको नमिठो बचन, अपहेलना सहदै दिनहरु गुजार्दै आइरहेका छन् । तर श्रीमती कविता मिजार र छोराले उनलाई साथ दिइरहेका छन् । श्रीमती कविताले सामान्य खेती किसानी गरि गुजारा टार्ने गर्छन् । १८ वर्षीय छोरा नजिकैको विद्यालयमा अध्ययनरत छन् । १६ वर्षसम्म एकै ओछ्यानमा बस्नुपरेको पीडालाई सम्झदै उनी कहिलेकाही भक्कानिन्छन् ।
गोली लागेर अस्पताल पुगेदेखि अहिलेपनि नियमित औषधी खाइरहनुहुन्छ । उनीसँग क वर्गको अपांगता परिचयपत्र छ । वडाबाट मासिक तीन हजार भत्ता आउने गर्छ, त्यसैले जीविका चलिरहेको मिजारले बताउनुभयो । बिहानी परियोजनाले गर्दा १६ वर्षदेखि एकै औछ्यानमा बस्नुपर्दाको पीडा भुल्न केही सहयोग मिलेको मिजारले बताउनुभयो । उहा भन्नुुहुन्छ– ह्वील चियरले जिवन जिउने नयाँ आश थपिदिएको छ, ओछ्यानमै बसिरहनुपर्ने स्थितिबाट केही राहत मिलेको छ । तर द्धन्द्धको समयमा देशमा परिवर्तन ल्याउने भन्दै लागेकाहरुको न योगदानको चर्चा हुन्छ न त सत्तामा पुगेका नेताहरुले वास्ता गर्छ भन्दै मिजारले दुखेसो पोख्नुभएको छ ।
किशोर मिजारको जस्तै गुनासो छ निलकण्ठ नगरपालिका वडा नम्वर १४ धुवाकोटकी हेमा श्रेष्ठको पनि । श्रेष्ठ अन्याय र अत्याचारको विरुद्धमा महिलाले पनि केही गर्न सक्छ भन्दै २०५८ सालमा तत्कालिन नेकपा माओवादीमा आवद्ध हुुनुभयो । १९÷२० वर्षको अल्लेरे उमेरमा कहिले कता, कहिले कता बस्नुपर्ने, खवाइ र बसाइको ठेगान नहुने तर पनि परिवर्तनको लागि भनेर लागिरहे । पछि २०६१ सालमा मोरङ जिल्लाको जाँतेमा सेनासँगकोे दोहोरो भिडन्तमा परि सेनाको गोली लागेर श्रेष्ठ घाइते हुनुभएको थियो ।
देब्रे खट्टा अनि शरीरमा गोली लागेपछि ढलेको श्रेष्ठलाई बाँच्छु भन्ने नै लागेको थिएन । साथीहरुले बेहोस अवस्थामै उद्धार गरेर लगे अनि माओवादीकै क्याम्पभित्रै २ महिना उपचार गराए । २ महिनासम्म पनि उपचार गराउदा निको नभएपछि अस्पतालमै भर्ना हुन गएको श्रेष्ठले बताउनुभयो । गोली लागेर खु्ट्टाको हड्डी नै भाचिएको थियो । अस्पतालमा उपचार गराउन गए पनि सेनाले खोजीनीति गर्न आउथे, साथीहरुकै सहयोगमा आलो घाउ बोकेरै अस्पतालबाट लुकेर भागी हिड्ने गरेको अनुभव सुनाउदै त्यो जिवनकै अप्ठेरो पल भएको बताउनभुयो ।
ADVERTISEMENT

त्यो बेला बाँच्छु भन्ने नै लागेको थिएन । साथीहरुले उद्धार गरेर नयाँ जीवन पाएकी छु । श्रेष्ठ भन्नुहुन्छ– नयाँ जिवन त पाए तर जिवनभरको लागि अपाङ्गता भएर बाँच्नुपरेको छ । गोली लागेको घाउ त निको भयो तर देब्रे हात र खुट्टा राम्रोसँग चल्दैन । हिडडुल गर्न समस्या हुन्छ ।
१ छोरा र १ छोरी २ सन्तानकी आमा श्रेष्ठको दैनिकी घरमै मात्र सीमित भएको बताउनुहुन्छ । बाहिर काम गर्न सक्दिन, घरमै श्रीमान् र छोराछोरीलाइै खाना पकाउन बाहेक अरु काम गर्न नसक्ने श्रेष्ठले बताउनुभयो । श्रीमान् गाउमै खेतिकिसानी गर्नुहुन्छ ।
सरकारले द्धन्द्धबाट घाइते भइ अपाङ्गता भएकाहरुलाई जिवन निर्वाह भत्ता दिदै आएको छ । हेमा श्रेष्ठले पनि २०६८ सालबाट जिवन निर्वाह भत्ताबापत मासिक ६ हजार २ सय लिदै आउनुभएको थियो । त्यसबाटै गुजारा गर्न र बेला बेलामा उपचार गर्न केही सहयोग मिल्थ्यो तर गत २०७७ साउन महिनादेखि भत्ता नपाएको श्रेष्ठले गुनासो गर्नुभयो ।
परिवर्तनको लागि आफुले गरेको दुख खेर गएको श्रेष्ठ गुनासो गर्नुहुन्छ । सशस्त्र द्धन्द्धमा हजारौं युवाहरुले बलिदानी दिए । देश परिवर्तनमा योगदान दिनेहरुको अवस्थाबारे कसैले वास्ता गर्दैनन् । द्धन्द्धमा घाइते भइ अपाङ्गता भएकाहरुको अवस्था के छ भनेर कसैले सोध्दैनन् श्रेष्ठले गुनासो गर्नुभयो – ‘अपाङ्गता भएकाहरुलाई जिवन निर्वाहको लागि सहयोग गर्र्दिए धेरै राहत मिल्नेथ्यो ।’
जिल्ला प्रशासन कार्यालय धादिङको तथ्याङ्कअनुसार धादिङमा द्धन्द्धमा घाइते भइ अपाङ्गता हुनेहरुको संख्या २३ जना रहेको छ । देशमा परिवर्तन, शान्ति अमन चयनको सपना बोकेर द्धन्द्धमा होमिएर घाइते तथा अपाङ्गता भएकाहरु अहिले ती सबै सपना सपनामै सीमित भएको गुनासो गर्छन् । परिवर्तनकै लागि दिनरात, परिवार आफन्त, भोकनिन्द्रा केही नभनी सँगै हिडेका उ बेलाका साथीहरु अहिले सत्ता र नेतृत्व तहमा पुगेपछि केही नगरेको पीडितहरुको गुनासो छ ।
ती द्धन्द्धपीडितहरु अहिले जिवन गुजारा गर्न पनि संघर्ष गरिरहनुपरेको बताउछन् । अपाङ्गता भएकाहरुको अवस्था निकै नाजुक छ । परिवार र समाजको अपहेलना सहेर बस्नु परेको छ भने आर्थिक अभावले समयमा उपचार तथा हेरचाह पाउन नसकेको गुनासो गर्छन् । कति अझै बैपत्ता छन्, उनीहरुको अवस्था पत्ता लाग्न सकेको छैन ।
अहिले राज्यबाट द्धन्द्धका घाइते तथा अपाङ्गता भएकाहरुलाई दिने मासिक भत्ता समेत रोकिदा जिवन गुजारा गर्न कठिन भएको छ । गत २०७७ साउन महिनादेखि मासिक भत्ता रोकिएको द्धन्द्ध पीडितहरुको गुनासो छ । राज्यले द्धन्द्ध पीडितहरुका यस्ता समस्या समाधानसँगै जिवन गुजारा गर्न सहज वातावरण बनाइदिनुपर्ने पीडितहरु बताउछन् ।