फागुन २६ गते, धादिङ ।
त्रिशुली नदी र पृथ्वी राजमार्गलाई प्रदुषित बनाउने गरी सञ्चालन गरिएका बालुवा धुने मेसिन र क्रसरको विद्युत लाइन काटिएको छ । धादिङ जिल्लाभित्र त्रिशुली नदी किनारमा अवैधानिक ढंगले सञ्चालन भएका उदद्योगको विद्युत लाईन काटिएको विद्युत प्राधिकरण धादिङले जनाएको छ ।

अधिकांश बालुवा धुने उद्योग र क्रसर मापदण्डविपरीत सञ्चालन भएको भन्दै विद्युत लाइन काटिएको धादिङका प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारीले बताउनु भयो । जिल्ला स्तरीय नदीजन्य पदार्थ अनुगमन तथा समन्वय समितिले गत मंगलबार गरेको अनुगमनमा अधिकांश उद्योग मापदण्ड विपरीत सञ्चालन भएको पाइएको भण्डारीले बताउनुभयो । अनुगमनका क्रममा अधिकांश उद्योग सार्वजनिक स्थलमै सञ्चालन गरेको, अनियमित तवरले विद्युत् लाइन जडान गरेको पाइएको बताएको छ ।

त्यसैगरी मापदण्ड विपरीत उद्योग सञ्चालन र अनियमित तवरले बेल्खु, स्यालटार, लगायतका स्थानमा विद्युत् जडान गरेका २ ओटा क्रसर र ४० ओटा बालुवा धुने उद्योगले प्रयोगमा ल्याएका ८ वटा विद्युत् ट्रान्सफर्मरको लाइन काटेको बताइएको छ । एक स्थानको लालपुर्जा र उद्योग दर्ता देखाएर त्रिशूली नदीको बगर र राजमार्ग छेउका सार्वजनिक जग्गामा उद्योग सञ्चालन गरेको भेटिएपछि स्थानीय प्रशासनले कारबाहि गर्न थालेको हो । उद्योग सञ्चालन गर्ने इजाजत पत्रमा उल्लेखित भएका सर्त र मापदण्ड बाहिरका क्रसर र बालुवा प्रशोधन उद्योगको विद्युत् आपूर्ति बन्द गरिदिएको पनि प्रशासनले बताएको छ ।

अनुगमनका क्रममा एउटा उद्योगले लिएको विद्युत् लाइनबाट इजाजत नलिएका अन्य उद्योगले समेत विद्युत् खरिद गरी प्रयोग गर्ने गरेको फेला परेपछि ती उद्योगमा जोडिएको विद्युत लाइन पनि काटिएको छ । नेपाल विद्युत् प्राधिकरण र उद्योगीहरूको मिलोमतोमै सार्वजनिक जग्गाहरूमै उद्योगको नाममा विद्युत् ट्रान्सफर्मर जडान गरिएको, ब्लक बनाउने र धान कुट्ने मिल सञ्चालनको उद्योग गर्ता गरी बालुवा धुने उद्योगमा विद्युत् जडान गरिएको फेला परेको छ ।

राजमार्ग तथा नदी किनारमा उद्योग सञ्चालन गरी बालुवा धुने कार्यगर्दा राजमार्गको यात्रा असहज बन्नुको साथै त्रिशुली नदी साउनमा जस्तै रातो बग्ने गरेको त्रिशुली बचाउ अभियानका अभियन्ताहरुले बताएका छन् । अभियन्ताहरुको निरन्तर दवाब पछि स्थानीय प्रशासनले अनुगमनसंगै अवैधानिक उद्योगहरुलाई कारबाही गर्न शुरु गरेको हो ।

नियम विपरित उद्योग सञ्चालन नगर्न र नदी तथा राजमार्ग प्रदुषित नगर्न प्रशासनले पटकपटक निर्देशन दिएको थियो । स्थानीय प्रशासनको निर्देशन अवज्ञा गरेपछि बाध्य भएर कारबाहिमा उत्रनु परेको पनि प्रमुख जिला अधिकारी भण्डारीले बताउनुभयो ।

Facebook Comments