पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा परेको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ मा रहेको सल्लाघारी पार्कमा सरसफाई गरिएको छ । नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङको आयोजना र नीलकण्ठ नगरपालिका वडा नम्बर ९ को वडा कार्यालय तथा लहरेपाखा सामुदायिक वनको समन्वयमा सरसफाई कार्यक्रम गरिएको हो ।

पछिल्लो समय सल्लाघारी पार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेसँगै पार्क र पार्क सँगैका स्थानहरु फोहोर पनि बढ्दै गएकोले सरसफाई कार्यक्रमको आयोजना गरिएको नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङका अध्यक्ष प्रशान्त गुरुङले जानकारी दिनुभयो । जथाभावी फोहोर नफालौं र निश्चित ठाउँमा फोहोरलाई व्यवस्थापन गरौं भन्ने सन्देश दिन पनि सरसफाई कार्यक्रम गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

सल्लाघारी पार्क र आसपासका क्षेत्रमा गरिएको सरसफाई कार्यक्रममा नीलकण्ठ नगरपालिकाका वडा अध्यक्ष राजन बराईली, लहरेपाखा सामुदायिक वनका पदाधिकारी, नेपाल तमू गुरुङ विद्यार्थी छोंज धी जिल्ला कार्य समिति धादिङका पदाधिकारी तथा तमूस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङका पदाधिकारीहरुको सहभागीता रहेको थियो । सरसफाई कार्यक्रमलाई समापन गर्नुहुँदै वडा अध्यक्ष राजन बराईलीले गुरुङ विद्यार्थी तथा तमूस्यो ह्यूल छोंज धी धादिङलाई धन्यवाद व्यक्त गर्नुभयो ।

पछिल्लो समय आन्तरिक तथा पर्यटकको चहलपहल बढ्दै जाँदा फोहोर व्यवस्थापनमा पनि चुनौती बनिरहेको बेला गुरुङ विद्यार्थीको पहलमा भएको यो कार्य सराहनिय रहेको बताउनुभयो । त्रिपुरासुन्दरी गाउँपालिकामा रहेको नृहसिंह धाममा जेठ महिना भर सञ्चालन भएको पुरुषोत्तम महामहोत्सवमा उपस्थित भएका भक्तजनहरुको कारण पनि फोहोर धेरै जम्मा भएको बताउनुभयो । पार्क सरसफाईमा विद्यार्थीहरुले देखाएको अग्रसरतालाई आत्मासाथ गर्दै आगामी दिनमा सरसफाईका कार्यक्रमलाई निरन्तरता दिईने बताउनुभयो ।

यस्तै सल्लाघारी पार्क हुँदै यात्रा गर्ने सम्पूर्ण यात्रु, यातयात व्यवसायी लगायत घुम्न आउने पर्यटकहरुलाई जथाभावी फोहोर नफाल्न अनुरोध गर्नुभयो । यस्तै गुरुङ विद्यार्थी तथा तमूस्यो महिलाहरुले फोहोर संकलन गर्न डस्टविन र झाडु समेत हस्तान्तरण गरेको छ ।

 

Facebook Comments