नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को अनलाइन कारोवार प्रणालीको उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै अर्थमन्त्री डा युवराज खतिवडा । तस्बिर ः प्रदीपराज वन्त,रासस
कात्तिक २० ।
नेपाल स्टक एक्सचेञ्जले आजबाट पूर्ण रुपमा अनलाइन कारोबार प्रणाली शुरु गरेको छ । मंगलबार होटल याक एण्ड यतिमा आयोजित विशेष समारोहकाबीच अर्थमन्त्री डा। युवराज खतिवडाले अनलाइन कारोबारको उद्घाटन गर्नुभयो ।
नेप्सेले चालु आर्थिक वर्षको पहिलो दिनदेखि नै अनलाइन प्रणाली शुरु गर्ने भने पनि पूर्ण रुपमा सञ्चालन गर्न भने सकेको थिएन । यो प्रणाली शुरु भएसँगै अब सेयर लगानीकर्ताहरुलाई ब्रोकर कार्यालय धाइरहनु पर्ने बाध्यता हटेको छ ।
प्रविधिको प्रयोग बढेसँगै अनलाइन कारोबार शुरु गरिएको नेप्सेले जनाएको छ । दिनदिनै ब्रोकर अफिस धाइराख्नु पर्ने बाध्यता हटाउन तथा स्वदेश तथा विदेशमा छरिएर रहेका सबै नेपालीले सहज तरिकाले सेयर कारोबार गर्न पाउन भन्ने उद्देश्यले नेप्सेले अनलाइन प्रणाली शुरु गरेको बताएको छ ।
आजदेखि आम लगानीकर्ताले इण्टरनेटको पहुँच भएको कुनै पनि स्थानमा रहेर आफैंले कारोबार गर्न सक्नेछन् । अनलाइन कारोबार शुरु भएसँगै सेयर बजार सकारात्मक दिशामा अघि बढ्ने लगानीकर्ताहरुले प्रतिक्रिया दिएका छन् ।