कार्तिक २९, धादिदङ
अबदेखि शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत ऋण लिन पाइने भएको छ । विशेष गरि शैक्षिक बेरोजगार न्युनिकरणको लागि नेपाल सरकारले विभिन्न किसिमका व्यावसाय सञ्चालनको लागि आफुले अध्यायन गरेको शैक्षिक प्रमाण पत्र धितो राखेर सहुलियत दरमा ऋण प्राप्त गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गदैँ शैक्षिक योग्यताको प्रमाण पत्र धितोमा राखी ऋण लिएर व्यवसाय गर्न योग्य नेपाली नागरिकलाई ऋण लिन आग्रह गरेको छ । आ.व. २०७५÷२०७६ को बजेटमा नै ‘शैक्षिक युवा स्वरोजगार’, ‘विदेशबाट फर्केका युवा परियोजना’, ‘महिला उद्यमशीलता’, ‘कृषि तथा पशुपक्षीपालन’ जस्ता व्यवसायहरु गर्नका लागि सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने घोषणा गरेको थियो ।

नेपाल राष्ट्र बैंकले असोज ११ गते नै सबै वाणिज्य बैँक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था मिलाउन निर्देशन दिएको थियो । सहुलियत कर्जाको लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्य्विधि २०७५ कार्यान्वयनमा आएसँगै शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण लिन पाइने भएको हो । अर्थ मन्त्रालयले एकिकृत कार्यविधि ल्याएकाले शैक्षिक कर्जा वाणिज्य बैंक, विकास बैंक र अन्य वित्तीय संस्थाबाट पाइने भएको छ तर लघुवित्त संस्थाले भने त्यस्तो ऋण दिन पाउने छैन् । सरकारको कार्यक्रम अनुसार माध्यमिक वा सो सरह उत्र्तीण गरी २५ वर्ष नकटेका नेपाली युवाले उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा लिन पाउने छन् ।
कार्यविधिअनुसार उच्च शिक्षा हासिल गर्न सहुलियत बैंकको आधार दरको दुई प्रतिशत नबढ्ने गरी ब्याजदरमा पाँच लाखसम्म ऋण पाउने व्यावस्था गरिएको छ । साथै उच्च शिक्षाका लागि विदेश पढ्न जाने युवाले यो कर्जा प्राप्त गर्न आर्थिक रुपमा विपन्न सिमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थी भएको सिफारिस अध्ययन गर्ने शैक्षिक संस्था प्रतिष्ठानमा भर्ना भएको वा हुन योग्य रहेको खुल्ने कागजातको प्रतिलिपि समावेश गनुपर्ने छ । यसका साथै वैदेशिक रोजगारिको लागि विदेश गएर फर्किएका युवाहरुको लागि पनि सहुलियत दरमा व्यावसायिक कर्जा प्रदान गरिने छ ।
यो कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भए लगतै उच्च शिक्षा अध्यायन गर्ने र व्यवसाय गर्न चाहने युवा, महिला तथा दलित समुदायले सरकारबाट सहलियतपूर्ण कर्जा प्राप्त गर्न सक्ने तथा आफ्नो सीपको आधारमा बिनाधितो कर्जा पाउने छन् ।