पुस २१, धादिङ ।
धादिङ जिल्लाकै पहिलो सामुदायिक रेडियो, रेडियो धादिङ १०६ मेगाहर्जले आज आफ्नो ११ औं वार्षिकउत्सव विविध कार्यक्रमको साथमा मनाउने भएको छ ।

समुदायको लागि समुदायको आवाज भन्ने मुल नाराका साथ विविध जाति तथा समुदायको भाषा, कला र संस्कृतिको संरक्षणमा निरन्तर अगाडी बढिरहेको रेडियो धादिङ आजबाट स्थापनाको ११ औं वर्ष पुरा गरि १२ औं वर्षमा प्रवेश गर्दैछ ।

यही अवसरमा लोप हुदै गएको पञ्चैबाजालाई संरक्षण गर्ने उद्देश्यले जिल्ला स्तरिय खुल्ला पञ्चैबाचा प्रतियोगिताको आयोजना गरिएको छ । पञ्चैबाजा प्रतियोगितामा जिल्लाभित्रका विभिन्न १९ वटा समूहले नाम दर्ता गराएका छन् । यस्तै वार्षिक उत्सवकै अवसरमा रेडियो धादिङको नवनिर्मित भवनको समेत उद्घाटन तथा शालिक अनावरण गरिने कार्यक्रम रहेको रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्माले जानाकारी दिनुभयो ।

ग्रामीण सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो धादिङ १०६ मेगाहर्जले २०६४ साल पौष २१ गते देखी धादिङवेसीबाट आफ्नो नियमित प्रशारणको आरम्भ गरेको हो । रेडियो धादिङले नेपालमै पहिलो पटक चेपाङ भाषामा खबर प्रशारण गरिरहेको छ । हरेक दिन बिहान ५ बजेदेखि राती १० बजेसम्म नियमित १७ घण्टा प्रशारण हुँदै आएको रेडियो धादिङमा अहिले प्रत्येक दिन नेपाली भाषाका खवर ६ बुलेटिन, तामाङ भाषाको खवर १ बुलेटिन र चेपाङ भाषाको खवर १ बुलेटीन प्रशारण हुँदै आएको छ ।

यसैगरी यात्रामा निस्कने सर्वसाधारणको हितलाई ध्यानमा राखेर रेडियो धादिङले प्रत्येक २÷२ घण्टाको फरकमा राजमार्ग खवर पनि प्रसारण गर्दै आएको छ । २०७३ साल असोज ७ गते विहानको समयमा जिल्ला वन कार्यलय धादिङले वल प्रयोग गरेर निलकण्ठ नगरपालिका वडा नम्बर ८ साँधुटारमा भएको रेडियो धादिङको भवन भत्काएपछि अहिले धादिङवेशीं शान्त बजारमा आफ्नै विद्यासागर स्मृति सञ्चार भवनबाट प्रशारण हुँदै आएको छ ।

Facebook Comments