
माघ १०।
सरकारले २० जना कामदारलाई मात्रै प्रतिबन्धित मुलुक मलेसिया जानका लागि श्रम स्वीकृति दिएको खुलासा भएको छ ।
विहिबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मलेसियास्थित नेपाली दूतावासको आग्रहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २० जना कामदारलाई मात्रै मलेसिया जानका लागि श्रम स्वीकृति दिएको खुलासा भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यही माघ २ गते २० जना कलिङ भीसा लागेकालाई मात्रै मलेसिया जान श्रम स्वीकृति दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागलाई पठाएको पत्रमा उल्लेख गरिएको समितिका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।
उहाँले मलेसियाको सेन्ट ब्राण्ड कम्पनीको आग्रह तथा त्यहाँस्थित नेपाली दूतावासको सिफारिसमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २० जनालाई मात्रै श्रम स्वीकृति दिएको पत्रमा उल्लेख गरिएको पनि जानकारी गराउनुभयो । सरकारले २०७५ साल जेष्ठ २ गते कामदारमाथि म्यानपावर कम्पनीले चरम आर्थिक शोषण गरेको लगायतका कारण देखाउँदै तत्कालका लागि मलेसिया कामदार पठाउन प्रतिबन्ध लगाएको थियो ।
२० जनालाई मात्रै मलेसिया जानका लागि श्रम स्वीकृति दिएको भन्दै आपत्ति
बैठकमा समितिका सदस्यले कलिङ भिसा लागेका १० हजार बढी कामदार भएपनि २० जनालाई मात्रै किन मलेसिया जानका लागि श्रम स्वीकृति दिएको भन्दै आपत्ति जनाएका छन् ।
बैठकमा सांसदले कलिङ भिसा लागेका २० जना कामदारलाई मात्रै मलेसिया जान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति दिएकोमा आपत्ति जनाएपछि समितिका सभापति विमलप्रसाद श्रीवास्तवले यस सम्बन्धमा सरकारसँग आवश्यक छलफल गर्ने बताउनुभएको छ ।