माघ २१, धादिङ ।
भैरवी मन्दिर पुननिर्माणको लागि निलकण्ठ नगरपालिका वडा नम्वर ६ सुनौलाबजारमा संचालित श्रीमद् भागवत सप्ताह ज्ञानमहायज्ञ आजबाट सकिएको छ ।

माघ १३ गतेदेखि सुरु भएको महायज्ञको आज अन्तिम दिन पण्डित कपिलदेव भट्टबाट विभिन्न कथाबाचनकासाथै भजन, मखनलिला विभिन्न झाँकी प्रदर्शन गरिएको थियो । धादिङको सुनौलाजबारस्थित भैरव मन्दिर पुननिर्माणमा सहयोग गर्ने उद्देश्यले स्थानीय भैरवी मन्दिर संरक्षण तथा पर्यटन विकास समितिले महायज्ञको आयोजना गरेको हो । महायज्ञको आज अन्तिम दिनसम्म ९४ लाख ६६ हजार ७ सय ७६ रकम संकलन भएको आयोजकले जनाएको छ ।

महायज्ञमा आज सवैभन्दा बढि धादिङ नेपाली समाज अमेरिकाले २ लाख ५ रुपैया सहयोग गरेको बताइएको छ । २०७२ सालको भुकम्पले पुर्ण रुपमा क्षति भएको भैरवी मन्दिरको अझैसम्म पुननिर्माण हुन नसकेकोले यसको संरक्षणकासाथै भैरवी मन्दिर परिसरलाई जिल्लाकै धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सहयोग पुगोस् भन्ने मनसायले आयोजना गरिएको महायज्ञको आज एक कार्यक्रमका विच समापन गरिएको छ ।

भैरवी मन्दिर संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष धु्रव श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा निलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमकै अवसरमा नगरपालिकाको वडा नं ३, ४, ७ का वडाअध्क्षहरुले मन्दिर निमार्णका लागि आफ्नो वडाबाट ५/५ लाख रकम सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको भैरवी मन्दिर संरक्षण तथा पर्यटन विकास समितिका सचिव कृष्णबहादुर श्रेष्ठले बताउनुभयो ।

भैरवी मन्दिरको अस्तित्व जोगाइ राख्न, यस क्षेत्रलाई ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न भैरवी मन्दिर संरक्षण तथा पर्यटन विकास समितिले विभिन्न कामहरु गर्दै आएको छ ।

Facebook Comments