
तस्विर:गुगल
अषाढ १९, धादिङ ।
मध्य असार सकिन लाग्दा सम्म पनि पानी नपर्दा किसानहरुले रोपाई गर्न व्याडमा राखेको धानको विउ मर्न थालेको छ । असार महिना सकिनै लाग्दा पनि पानी नपरेपछि यति खेर किसानहरु चिन्तित देखिन्छन् । खनियावास गाउँपालिका वडा नम्बर ५ सत्यदेवि लगायतका खेतहरुमा राखेको विउ मर्न थालेको किसानहरुले बताएका छन् । मानो रोपेर मुरी उब्जाउने यो समयमा पानी नै नपरेपछि भोकमरीको समस्या आउने त होईन? भन्ने चिन्ताले सताउन थालेको धादिङको खनियावास गाउँपालिका वडा नम्बर ५ सत्यदेविका सुरेश घलानले बताउनुभयो ।
निलकण्ठ नगरपालिकाको केही ठाउँहरुमा पनि विउ मर्न थालेका छन् । पानी अभाव हो या रोगको कारण हो केही पत्ता लगाउन नसकेको निलकण्ठ नगरपालिका वडा नम्बर ९ काफलपानीका कृष्ण गुरुङले बताउनुभयो । रोपाई गर्ने बेलामा धानको विउ मर्न थालेपछि धान उत्पादनमा पनि कमी आउने होकी भन्ने किसानहरुले अड्कल काटेका छन् ।
१२ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको धादिङमा अहिले सम्म १२ प्रतिशत मात्रै धान रोपाई सकिएको छ । ”अहिले सम्म मनसुन सक्रिय छैन, चैते धान लगाउन पनि ढिला भयो, चाँडै मकै नपाक्नुको कारणले पनि समयमा नै रोपाई हुन सकेन ”-कृषि ज्ञान केन्द्र धादिङका बरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले भन्नुभयो ।” राम्रो संग वर्षा हुन नसकेको कारण मुल फुट्न पाएन, मुल नफुटे पछि रोपाई हुन सकेन, धानको विउ मर्न थालेको ठाउँहरुमा बाहिरबाट पानी ल्याएर भएपनि सिंञ्चाई व्यवस्था मिलाउन कृषि ज्ञान केन्द्र धादिङका बरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाको सुझाव छ । अहिले धानको व्याडमा ब्लाष्ट रोगका कारण पनि धानको विउ मर्न थालेका छन, विउ के कारणले मरेको हो, पानीको अभाव हो अथवा रोग त्यो पत्ता लगाउनुपर्ने देवकोटाले बताउनुभयो ।
धादिङ जिल्लामा वार्षिक ३७ हजार ९ सय ६७ मेट्रिक टन वर्षे धान र ७ हजार ५ सय मेट्रिक टन चैते धान उत्पादन हुँदै आएको छ । विशेषगरी टारहरु अर्थात कम उचाई भएका ठाउँहरुमा मकवानपुर १, सावीत्री, सुख्खा १, २, ३, ४, ५ रामधान जस्ता धानहरु लगाइने गर्दछ । १ आना जग्गा पनि बाँझो नराखीकन खेती गर्नका लागि देवकोटाले आग्रह गर्नुभयो । बस्ने खाने स्थान सुरक्षित नहुँदा पनि किसानहरु खेती गर्न भने छोडेका छैनन् र यसलाई निरन्तरता दिन देवकोटाले सुझाव दिनुभएको छ । यस्तै मौसम अनुुसारको तरकारी तथा फलफुल खेतिमा जोड दिन पनि आग्रह गर्नुभएको छ ।