२८ भदौ,धादिङ ।
धादिङमा २३ जनामा डेंगुको संक्रमण भेटिएको छ । उच्च ज्वरो तथा टाउको दुखेर जिल्ला अस्पताल धादिङमा जचाँउन आएका विरामीहरुलाई चेकजाँच गर्दा डेंगो रोग देखिएको हो । बिरामीको रगत परीक्षणपछि डेंगु रोगको संक्रमण भेटिएको जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर त्रिभुवन चन्द्र झाले बताउनुभयो ।
डेंगु देखिएसँगै धादिङबासी त्रसित बनेका छन् । तर आर्थिक वर्ष ०७५/७६ मा ५ जनामा डेंगुको संक्रमण भएको उहाँले बताउनुभयो । दुइ महिना नपुग्दै यस वर्ष धेरैलाई डेंगु लागेको छ । हरेक वर्ष डेंगुको संक्रमण हुदै आएको छ । उनले भने– रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु उत्तम उपाय हो । धादिङमा मात्र होइन नेपालको धेरै ठाउँमा डेंगुको जोखिम छ । त्यसैले सबै सचेत हुन आवश्यक रहेको बताउनुभयो ।

डेंगु रोग पत्ता लगाउन २ दिन
जिल्ला अस्पताल धादिङले प्रवाह गरेको सेवा तथा सुविधाप्रति विरामी तथा आफन्तहरुले असन्तुष्टि व्यक्त गरेका छन् । अस्पतालमा भर्खरै पढ्दै गरेका विद्यार्थीबाट उपचार गराएको कारण डेंगु रोग पत्ता लगाउन २ दिन लागेको डेंगु लागेर उपचार गरिराखेकी नीलकण्ठ १२ धादिङकी शान्ता विकले बताउनुभयो ।

वि.क भन्नुहुन्छ – अघिल्लो दिन रातको एक बजेसम्म डेंगुको संक्रमण छैन भन्यो । हनहनी ज्वरो आएर खप्नै नसकेर अस्पताल गएको थिएँ । भर्खरै पढ्दै गरेका विद्यार्थीले जाँच गरे । रगत पिसाव सबै चेकजाँज गर्दा डेंगु नदेखिएपछि घर पठाए । तर निको नभएर भोलिपल्ट जादाँ डाक्टरले डेंगु लागेको बताउनुभयो । जिल्लाको अस्पताल, स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा यस्तो लापरवाही गर्न नहुने हो कि जस्तो लाग्छ विकले गुनासो पोखिन् । डेंगु लागेपछि उनले काठमाडौमा उपचार गराएको बताउनुभयो । समयमै पत्ता लागेको भए उपचारका लागि काठमाडौंसम्म धाउनु पर्ने थिएन । डेंगु छैन भनेर ढुक्क परेको भए खतरा हुने रहेछ । धन्न फेरी चेक गराए र अहिले सुरक्षित छु, लामो सास फेर्दै वि.कले बताउनुभयो ।

 

त्यस्तै, नीलकण्ठ नगरपालिका ३ धादिङका गणेश बुढाथोकी जिल्ला अस्पतालले स्वास्थ्य जस्तो क्षेत्रमा लापरवाही गरेको बताउनुहुन्छ । शिकारुबाट उपचार गराउने, सामान्य चेकजाँचका लागि अस्पताल जाँदा घण्टौ कुर्नु पर्ने, अस्पताल हाताभित्रै सरसफाइ नभएको, सामान्य विरामीलाई पनि काठमाडौ सिफारिस गर्ने, कहिले जटिल केशलाई सिफारिस नगर्ने जस्ता काममा अस्पतालले लापरवाही गरेको उनले गुनासो पोखे । जीवन र मरणको दोसाँझमा रहेका मानिसको ज्यान बचाउने अस्पतालले विरामीको स्वास्थ्य तथा जीवनसँग खेल्न नमिल्ने र अस्पतालले आफ्ना कमी कमजोरी सुधार्नु पर्ने कुरामा उहाँले जोड दिनुभयो ।

विरामीको चाप, किटको अभाव
डेंगुको संक्रमण भएर उपचार गर्न आएका विरामीलाई उपचार गर्न समस्या भएको जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर त्रिभुवन चन्द्र झाले बताउनुभयो । किटको अभावले विरामीको अवस्था हेरी उपचार गरिरहेका छौं । अस्पतालमा भएको २४÷२५ टेस्ट किट मध्ये ४/५ वटा सकिसकेको उनले बताए । उनले भने– जिल्ला अस्पतालमा विरामीको चाप छ । अस्पतालमा विभिन्न रोगका विरामीहरु दैनिक करिव ३ सय जना चेकजाँचका लागि आउँछन् । सबैलाई डेंगु परिक्षण गर्ने सम्भावना पनि भएन । तर सहज रुपले सेवा तथा सुविधा विस्तार गर्न नसकिएको उहाँले बताउनुभयो ।

विरामीले घण्टौं कुर्नु परेको कुरामा डाक्टर झा स्वीकार्छन् । पदपूर्ति हुन नसक्दा चिकित्सकको अभावका कारण समस्या भएको बताउनुभयो । ढिला सुस्ति भएकै हो । तर सेवा तथा सुविधा विस्तारमा कन्ज्यूस्याँइ भने गरेका छैनौं । जनशक्ति नै अभाव भएपछि हाम्रो के लाग्छ र तर पढ्दै गरेको विद्यार्थीले उपचार नगरेको डाक्टर झा दावी गर्नुहुन्छ । डाक्टर सधै पढीरहकै हुन्छन् । एकपछि अर्काे लेवलका लागि अध्ययन गर्नु प¥र्यो । झन ज्ञान बढ्ने र सेवा प्रभाविकारी हुने उहाँले बताउनुभयो । विरामीले डेंगु परिक्षण गर्दा नदेखेको भनिरहदा डाक्टर झा भने शुरुमा आउने विरामीलाई डेंगु परिक्षण नगरिहाल्ने बताउनुभयो । विरामीको अवस्था हेरी चेकजाँच गर्दा भोलिपल्ट मात्र डेंगु संक्रमण देखिएको छ । जिल्ला अस्पतालका सेवा तथा सुविधालाई चुस्त तथा प्रभावकारी बनाउन लागि परेको डा.झाको भनाई छ ।

Facebook Comments