
भदौं ३१, धादिङ ।
तान्त्रीक विधिबाट उपचार गरिदिन्छु भन्दै लामा झाँक्रीले पेटमा प्वाल पारेर गम्भीर घाईते भएका निलकण्ठ नगरपालिका ९ झगरेका ३९ वर्षिय राजु मगरको मृत्यु भएको छ ।
पेट चिरेर निको नभएका राजुलाई अशक्त भएपछि भदौ २५ मा जिल्ला अस्पताल धादिङमा भर्ना गरिएको थियो । २ महिनाअघि जन्डिसले थलिएका राजुलाई लामा झाँक्री बताउने गजबहादुर लामाले पेटको जन्डिस चुसेरै निकालिदिन्छु भन्दै बिरामीलाई घरमा बोलाएर ब्लेडले पेट चिरेका थिए । पेट चिरेर विकार निकालेबापत् ८ हजार रुपैयाँ पनि असुलेका थिए ।
झाँक्रीले पेटमा प्वाल खोपिदिएकाले अवस्था झनै जटिल भएपछि उनलाई उपचारका लागि काठमाडौँ ल्याइएको थियो । तर, काठमाडौँ नयाँबजारस्थित पिपुल मेडिकल कलेजले अरुले बनाइ दिएको घाउ आफूले नहेर्ने भन्दै पेटमा जमेको पानी निकाली दिएर फिर्ता गरिदिएको थियो । लामा झाँक्री अहिले फरार छन् । लामाविरुद्ध परिवारजनले जिल्ला प्रहरीमा उजुरी दर्ता गराएको आधारमा फरार लामाको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।