तस्विर : सिआईएनखबर

मंसिर १० ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले आफूले पाएको मन्त्रालयमै राम्रो काम गरेर देखाउने बताउनुभएको छ ।

महिला मन्त्रीको रूपमा आफूलाई प्रधानमन्त्रीले पठाउँदा केही सञ्चारमाध्यमले विरोध गरेकोमा आपत्ति जनाउँदै केही महिनाभित्रै कार्ययोजना सार्वजनिक गरी काम गरेर देखाउने प्रतिबद्धता जनाउनुभयो ।

सामुदायिक रेडियो प्रसारक सङ्घ अकोरावद्वारा सञ्चालित सामुदायिक सूचना नेटवर्क (सीआइएन) ले सुरु गरेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने सञ्चार अभियानको उद्घाटन गर्दै मन्त्री गुरुङले लैङ्गिक हिंसा रोक्नका लागि आफू प्रतिवद्ध रहेको बताउनुभयो ।

‘अहिले अभियान मात्र सञ्चालन भइरहेको छ । अभियान सञ्चालनमा मात्रै नभई व्यवहारिक रूपमा नै लैङ्गिक हिंसा रोकथाम गर्ने काममा लाग्नेछु ।’ गुरुङ्ले भन्नुभयो, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले मलाई महिला बालबालिका तथा जेष्ठ नागरिकको क्षेत्रमा काम गर्ने अपेक्षा गरेर पठाउनुभयो तर कतिपयलाई यहाँ निद्राभोक लागेको छैन, उनीहरूको अगाडि म काम गरेर देखाउनेछु ।’ उहाँले महिला हिंसा विरुद्धका अभियन्तालाई प्रचारप्रसारका लागि मात्रै अभियन्ता नबनी महिला हिंसा कम गर्नेतिर अग्रसर हुन आग्रह गर्नुभयो ।

अभियन्तालाई मन्त्रीले महिला हिंसा किन भइरहेको छ ? भनेर खोजी गर्नतिर लाग्न पनि आग्रह गर्नुभयो । मन्त्री गुरुङले नैतिकता, शिक्षा र आर्थिक उत्पादनलाई जोड दिने बित्तिकै महिला हिंसा अन्त्य हुने भएकाले अब नैतिक शिक्षा प्रदान गर्नमा जोड दिनुपर्ने बताउनुभयो । आफूलाई महिला मन्त्री हुनुमा कुनै हिनताबोध नभएको तर अरुले नकारात्मक प्रतिक्रिया दिएकोमा मन्त्री गुरुङले गुनासो गर्नुभयो सिआईएनखबर अनलाईमा समाचार छ।

Facebook Comments