
भरखरैमात्र नेपालमा सम्पन्न भएको १३ औं दक्षिण एसियाली खेलकूद प्रतियोगीता सागमा धादिङका ८ खेलाडीले नेपालका लागि पदक दिलाएका छन् ।
धादिङ सिद्धलेक कालिदह निवासी सोनी गुरुङले ट्रायथलनमा, ज्वालमुखी गाउँपालिका चैनपुर निवासी सन्तोषी श्रेष्ठले १० हजार मिटर दौडमा र त्रिपुरासुन्दरी गाउँपालिका खहरेकी सन्जिला तिमल्सिनाले तेक्वान्दोमा नेपालका लागि स्वर्ण पदक जित्नुभएको थियो ।
स्वर्ण विजेता तिनै जना खेलाडीलाई सरकारले जनही ९ लाख दिने घोषणा पनि गरेको छ । बुधबार सागका पदक विजेता खेलाडीलाई बोलाएर प्रधानमन्त्री केपी ओलीले आफ्नै निवासमा पदक विजेताको लागि पुरस्कार घोषणा गर्नुभएको हो ।
यस्तै बक्सिङमा ज्वालमुखि गाउँपालिकाका आशिष दुवाडीले सुपर हेवी ९१ केजी तर्फ र नेत्रावती डब्जोङ गाउँपालिका थर्पुका गणेश प्रधानले ८१ केजी लाईट हेबी समुहमा र दुवाथोलन पुरुष तर्फ धादिङ, गल्छि १ मास्टारका लक्ष्मण मल्लले नेपालका लागि रजत पदक जित्नुभयो ।
यस्तै धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ का पवन श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकूद सागमा कास्य पदक जित्नुभएको छ । नेपाल आर्मीमा अमलदार पदमा कार्यरत श्रेष्ठले जुडोबाट नेपाललाई कास्य पदक दिलाउनुभएको हो । श्रेष्ठ सँगै १३ औं साग खेलकूदमा धादिङका २ खेलाडीले कास्य पदक जित्नुभएको छ ।
धादिङ गंगजमुना गाउँपालिकाका ओलम्पियन हरि रिमालले ५ हजार मिटरको दौडमा नेपालका लागि कास्य पदक जित्नुभएको थियो । प्रधानमन्त्री ओलीले रजत पदक खेलाडीलाई ६ लाख र कास्य पदक विजेतालाई ३ लाख रुपैयाँ दिने घोषणा पनि गर्नुभएको छ ।