पौष ६, धादिङ ।

ख्रिष्टिमसको अवसर पारी आज धादिङका विभिन्न स्थानहरुमा शुभकामना आदानप्रदान, रक्तदान तथा साँस्कृतिक कार्यक्रम गरिएको छ । धादिङ ईसाइ समाजको आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा अतिथिहरुले येसु ख्रिष्टको महिमाको र्चचा गर्दै ईसाइ धर्मावलम्वीहरुलाई प्रगतिको शुभकामना दिएका थिए ।

धादिङ ईसाइ समाजका अध्यक्ष लेख बहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङगानाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बोल्नुहुदै प्रमुख ढुङगानाले आ–आफ्नो धर्म मान्र्ने अधिकार सबैलाई रहेको बताउनुहुदै धार्मिक सहिष्णुता कायम गर्न भने सबै सचेत हुनुपर्ने धारण राख्नुभएको थियो ।

त्यसैगरि धादिङ स्थानिय मण्डलिले शान्त बजारमा खुल्ला रक्तदान कार्यक्रम गरेकोे थियो । रक्तदान कार्यक्रममा सहभागि भई नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारीले ख्रिष्टियन समुदायले ईसाइ धर्मको संरक्षणसँगै सामाजिक कार्यमा पनि योगदान गरेकोमा खुसि व्यक्त गर्नुभयो ।

कार्यक्रममा पछिल्लो समयमा ख्रिष्टियन धर्मको संरक्षणका लागि सरकारी तथा गैरसरकारी संस्थाहरुले सहयोग गरेको स्थानीय मण्डलीका प्रतिनिधि इन्द्रमान शाक्यले बताउनुभयो । आज भएको रक्तदान कार्यक्रममा ६४ जना महिला र ३७ जना पुरुष गरी जम्मा १ सय १ जनाले रक्तदान गरेको पनि उहाँले जानकारी दिनुभयो । डिसेम्बर २५ अर्थात ख्रिष्टियन धर्मावलम्बीहरुको महान पर्व आउन अब केहि दिन मात्र बाकी छ ।

एसिया महादेशको इजरायलमा आज भन्दा २०१५ बर्ष अघि येसु ख्रिष्टको जन्म भएको बाईबलमा उल्लेख छ । त्यसपछि डिसेम्बर २५ मा ख्रिष्टियन धर्मावलम्वीहरुले येसु ख्रिष्टको जन्मउत्सवको रुपमा मनाउने गर्दछन् । येसु ख्रिष्ट ख्रिष्टियनहरुको मात्र प्रभु नभएकोले क्रिष्टमस सम्पुर्ण विश्वका मानिसहरुको साझा पर्व भएको ख्रिष्टयन अगुवाहरु बताउछन् ।

ख्रिष्टमसका अवसरमा कारीव १ महिना अघिदेखि नै विश्वभर विभिन्न कार्यक्रमहरुको आयोजना गरिन्छ । यस अवसरमा येशु ख्रिष्टको जन्मोउत्सवको खुसीयालीमा विभिन्न चोक तथा बजारहरुमा भेला भएर सामुहिक रुपमा दिप प्रज्वलन गर्ने प्रचलन पनि रहेको छ ।

Facebook Comments