
वेरोजगारी भएर बस्नुप¥यो, देशमा रोजगारी भएन भन्दै विदेशीने यूवाहरुका लागि मिहेनत गरे आफ्नै देशमा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण हुन् निलकण्ठ नगरपालिका वडा नम्बर ८ मुरलीभञ्ज्याङका सोलोमान तामाङ ।
उमेरले भरखरै २३ वर्ष । मिलेको जीउ डाल आकर्षक शरिर । सँधै सुकिलो मुकिलो भएर बाईकमा बत्तिने सोलोमान लोकल कुखुरा पालेर बस्छन भन्दा अपत्यारीलो लाग्न सक्छ । सोलोमान विहान ५ वेजेदेखि विहान ८ बजेसम्म कुखुराकै स्याहार सुसारमा व्यस्त हुने गर्छन् । ६ महिना अघि १ सय कुखुरा राखेर २ लाखबाट सुरु गरेको कुखुरा फार्ममा अहिले साना ठुला गरि ८ सय कुखुरा छन् ।

लगानी फस्नेपो होकी भन्दै दोधारै दोधारमा सुरु गरेको लोकल कुखुरा व्यवसायमा सोचेको भन्दा बढि आम्दानी हुन थालेपछि सोलोमान अहिले दंग छन् । छोटो समयमै राम्रो आम्दानी हुने भएपछि अब छिट्टै नै २ सय कुखुरा थप्ने योजना सोलोमानको छ । लोकल कुखुराको बजार मुल्य एक किलोको ७ सय भएपनि आफुले भने फार्ममै आउने ग्राहकलाई एक सय रुपैयाँ सस्तोमा दिने गरेको सोलोमानले बताउनुभयो ।
विहान र वेलुका दानापनी हेरिदए मात्रै पनि पुग्ने भएकाले लोकल कुखुरा पाल्न सजिलो हुने सोलोमानको अनुभव छ । अहिले लोकल कुखुरा खोज्दै ग्राहकहरु फाममै पुग्ने गर्छन् । तर विद्युतको प्रयोग गरि अण्डाबाट चल्ला निकाल्ने भएका कारण केही व्यक्तीहरुले भने स्वाद फरक हुनेपो होकी भन्ने शंका गर्ने गरेको सोलोमान बताउनुहुन्छ ।

‘व्यवसायीक रुपमा लोकल कुखुरा पालन गरिसकेपछि विद्युत प्रयोग गरि चल्ला निकाल्नुपर्ने हुन्छ, जात लोकल हो, लोकल दानापानी खुवाउने हो सबै लोकल नै भएपछि स्वाद पनि लोकल नै हुन्छनी, नयाँ प्रविधि अपनाएको मात्र न हो, सोलोमान भन्नुहुन्छ । साथै अस्वस्थ प्रतिस्पर्धाका कारण पनि कहिलेकाँही तनाव हुने गरेको सोलोमान बताउनुहुन्छ ।
एउटाले राम्रो गरेको देखेपछि त्यस्तै प्रकृतिको व्यवसाय खोल्ने, बजार भाउ विगारिदने जस्तो समस्याले कहिलेकाँही काम गर्दै जाँदा नमज्जा लाग्ने सोलोमान बताउनुहुन्छ । विभिन्न समस्या, चुनौती र बाधाहरुका विच पनि आफ्नो व्यवसायलाई निरन्तर अगाडी लैजाने भन्नेमा उहाँ दृढ हुनुहुन्छ ।

‘गर्छु भनेर लागेपछि किन पछि हट्नु अर्काको देशमा मरिमेट्नु भन्दा जति हुन्छ, जे हुन्छ, म यहि गर्छु, सँगैका साथी विदेशमा डलर छाप्छन्, म नेपाली रुपैयाँमै रमाउन खोज्दै छु हेरौं के हुन्छ,’ हाँस्दै सोलोमान सुनाउनुहुन्छ । विदेश जान नसकेर नपाएर होईन, नेपालमै केही गर्छु भन्ने उद्देश्यले लोकल कुखुरा व्यवसाय गर्न सुरु गरेको सोलोमान सुनाउनुुहुन्छ ।
सरकारले युवा व्यवसायीलाई प्रोत्साहन गर्न भन्दै विभिन्न युवा लक्षित कार्यक्रम ल्याएपनि कार्यन्वयनमा आउन नसकेको सोलोमानको अनुभव छ । वैंकहरुले ऋण नपत्याउने, धितो राख्न पर्ने, ऋण दिन आलटाल गर्ने जस्ता समस्याहरु रहेको तामाङको भनाई छ ।

सोलोमान तामाङ जस्तै अन्य युवाहरु पनि देशमै केही गर्छु भन्ने मानसिकता बोकेर हिडिरहेका हुन्छन् । यस्ता युवाहरुलाई देशमै रोजगारीको अवसर सिर्जना गर्ने भन्दै सरकारले कार्यविधि पनि तयार गरको छ । तर सरकारले तयार गरेको कार्यविधि कार्यन्वयनमा आउन नसक्दा युवा उद्यमीहरु समस्यामा पर्ने गरेका छन् । 