फागुन २, धादिङ ।
धादिङले विस्तारै आर्थिक वृद्धि हासिल गर्दै गएको नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले बताउनुभएको छ । शुक्रबारदेखि धादिङवेशीमा सुरु भएको सातौं धादिङ महोत्सवको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । कृषि, पर्यटन, जडिबुटि, धार्मिक लगायत आर्थिक विकासको क्षेत्रमा धादिङ पहिलो रहेको र उद्योग धन्दामा पनि धादिङ अघि बढ्दै गएको उहाँको भनाई थियो ।
धादिङको विकासको लागि बुढिगण्डकी जलविद्युत आयोजना पनि मुख्य रहेको दाहालले बताउनुभयो । नेपालकै बहुआयामिक महत्वपूर्ण बुढिगण्डकी जलविद्युत परियोजनाले नेपालको अर्थतन्त्रमा र धादिङ तथा गोरखाको जनताको जिवनस्तरमा गुणात्मक परिवर्तन ल्याउने उहाँको भनाई थियो । यस परियोजना जति तिव्र गतिमा निर्माणको काम अघि बढ्नुपर्ने थियो तर त्यस्तो नभएको र अब छिट्टै यो परियोजना निचोडमा पुग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
पार्टी एकता पछि कसैले सोच्नै नसकेका परिवर्तनहरु भएको जिकिर गर्नुभयो । असम्भव भएका कुराहरु विस्तारै सम्भव हुँदै गएको बताउनुभयो । एक अर्कालाईमा निशेध गर्ने, एक अर्कालाई हिसां र प्रतिहिंसाकै बलमा सिध्याउछु भन्नेहरु हात मिलाउने ठाउँमा आए, शान्ती सम्झौता भए, संविधान सभाको निर्वाचन सम्पन्न जस्तो अकल्पनिय कामहरु भएको उहाँको भनाई थियो । जनयुद्धका बेला शान्ती सम्झौता होला त ? नेपालमा ठुलो परिवर्तन आउँला त? राजनितिक स्थायित्व आउँलात भन्ने कुरालाई दुईतिहाईको सरकारले प्रमाणित गरिदिएको पनि बताउनुभयो ।
सामाजिक न्यायमा आधारित सहकारी मान्यतालाई समेत समाविष्ट गर्दै समाजवाद उन्मुखता तिर नेपाललाई लैजान सकिने विश्वासका साथ अघि बढिरहेको उहाँको भनाई थियो । निजि, सार्वजनिक र सहकारी क्षेत्रको समन्वय नै नेपालको अर्थतन्त्रको आधार रहेको उल्लेख गर्नुभयो । नेपालको आर्थिक विकास र समृद्धिको आधार भनेकौ नै निजि क्षेत्र सँगको सहकार्य महत्वपूर्ण आधार रहेको भनेर संविधानमा उल्लेख गरेको समेत उहाँको धारणा थियो ।
‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत, पर्यटन र उद्योगको पूर्वाधार’ भन्ने नारा सहित आजदेखि सातौं धादिङ महोत्सव सुरु भएको छ। धादिङ उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवको आज नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुभएको हो ।
महोत्सव अवधिभर २ लाख दर्शकले अवालोकन गर्ने र ५ करोड भन्दा बढि कारोबार हुने लक्ष्य राखिएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ खुल्लामञ्चमा सुरु भएको महोत्सवमा आज धादिङवशीको पुछारबजार देखि विभिन्न जातजाती र भाषाभाषीको झाँकी प्रदर्शन गरिएको थियो ।
जिल्लाको कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रको प्रचारप्रसार तथा भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै आयोजना गरिएको धादिङ उद्योग बाणिज्य संघले जनाएको छ । महोत्सवको मुख्य आकर्षणको रुपमा कृषि प्रर्दशनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा विक्री वितरण रहेका छन् ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा कला प्रदर्शन, स्थानीय तहमा उत्पादन हुने बस्तु तथा सेवाको प्रदर्शनी, हस्तकलाबाट निर्मित सामग्री, खनिजजन्य बस्तुको प्रर्दशनी, दुग्धजन्य पदार्थको प्रदर्शनी, जडीबुटी प्रदर्शन तथा बिक्री स्टल राखिएको छ ।