२०७२ सालको भुइँचालोले धादिङ जिल्ला भित्रका सबैजसो पुराना घरहरू भत्कायो । गजुरी गाउँपालिका वडा नं. २ का ६७ वर्षिय मणिराज कँडेलको घर पनि बचेन, चुच्चे गारो झ¥यो, जोर च्यातियो, ढुंगाको छानो लच्कियो । ढल्न त ढलेन, क्षतविक्षत भयो । बांगिए, पर्खालहरू चर्किए, बूँइगल थ्याच्चै बस्यो ।
अलिकति ढुङ्गामाटो, अलिकति पसिना र अलिकति जागिरको कमाइको हर्षको आँशुले बनेको यो दुई तले संरचना मणिराजका लागि केबल एउटा घर थिएन, जीवन भोगाइको सम्झनाहरूको पोको पनि थियो । २०४१ सालतिर यो घर बन्दा मणिराज साझा सहकारी संस्थामा जागिरे हुनुहुन्थ्यो । यही घरमा दुई छोरा र दुई छोरी जन्मिए, हुर्किए । यही घरको मझेरीमा बसेर खाना खाएको सम्झना जेठो छोरा राजनका मानसपटलमा ताजै छ । बाबु मणिराजका अथक मेहनत र लालनपालनले सबै सन्तानहरुले राम्रै पढे । दुबै छोरीको विवाह भैसक्यो ।

उहाँहरु चाडपर्व विशेष र कहिलेकाहीं यो घरमा आउनुहुन्छ । जेठो छोरा राजनले यो घर र सामुन्ने आधुनिक शैलीको घर बनाएर लिचि बन रिसोर्ट सञ्चालनमा ल्याउनु भएको छ भने, कान्छा छोरा औषधी विज्ञको रुपमा अमेरिकामा हुनुहुन्छ । पिएचडि गर्नुभएका डा. प्रकाश कुमार कँडेल अमेरिकामा एउटा औषधी कारखानामा वैज्ञानिकका रुपमा कार्यरत हुनुहुन्छ ।
अब लाग्न सक्छ भुइँचालोले जीर्ण बनाएको घरमा कसरी रिसोर्ट सञ्चालन भयो ? जीर्ण घरलाई छोरा राजन कँडेलले प्रवलिकरण ९च्भअतचयाष्तष्लन० गरेर रिसोर्ट सञ्चालन गर्नुभएको हो । यो घर पूर्ण क्षतिको लाभग्राही सूचिमा परेपनि उहाँले रकम लिनु भएन र पुरानै घरको मौलिकता जोगाउन प्रवलिकरण (Rectrofiting) गर्नुभयो ।

अहिले लिचि बन रिसोर्टमा पुग्ने जो कोहिले पनि नेपालीपन झल्काउने पुरानै मोडलको घर जसमा बुईंगल, बार्दली, चुलो र मझेरी, पालीमुनि ढिकी, जाँतो, फलैंचा, सिंढी, बार्दलीमा सुकाएको मकैको झुत्ता सबै देख्न पाइन्छ । यो विशुद्ध नेपाली मौलिकता जोगाउने कार्य भनेर प्रशंसा गर्न करै लाग्छ ।
पढाई लेखाई र जागिरको दौरान जहाँ पुगेपनि पेशा व्यावसाय आफैं जन्मे, हुर्केको ठाउँमा गर्नुपर्छ भन्ने मान्यता बोकेर रिसोर्टमा लगानी गरेको राजन कँडेल बताउनुहुन्छ । अहिले त सरकारले भ्रमण वर्ष २०२० को कार्यक्रम पनि ल्याएको छ, यसलाई सफल पार्न पनि छिट्टोगरि रिसोर्ट सञ्चालनमा ल्याएको उहाँ बताउनुहुन्छ ।
अहिलेसम्म झण्डै दुई करोड रुपैयाँ लगानी भैसकेको लिचि बन रिसोर्टमा सुविधा सम्पन्न ५ ओटा शयन कक्ष सहित सेमिनार हल र रेष्टुरेन्टको व्ष्वस्था छ । विशेष गरी पारिवारिक भ्रमणलाई मध्यनजर गरी तयार गरिएको रिसोर्टमा नेपाली खाना र शान्त वातावरणमा बस्ने व्यवस्था मिलाएको राजन बताउनुहुन्छ । बासनादार मनभोग चामलको भात, लोकल कुखुराको मासु, आफ्नै बारीमा लगाइएको अर्गानिक तरकारी, मूला, गुन्द्रुकको अचार खानाको रुपमा पाइन्छ ।
तीन वर्ष अघि लगाएको लिचि बगैंचाभित्र रिसोर्ट सञ्चालन भएको छ । लिचि फुल्ने र फल्ने समयमा त यसले झन सुन्दरता गप्नेछ । लिचि बगैंचाभित्र टेवुल कुर्ची राखेर खाना खाने प्रवन्ध मिलाइएको छ । अब छिट्टै नै वगैंचाभित्र कटेजहरु निर्माण गर्ने योजना रहेको पनि राजनले बताउनुभयो । झण्डै एकसय जनका लागि सेमिनार हल र रेष्ट्रेन्ट बनाउन लागेको पनि उहाँले बताउनु भयो ।

पूथ्वी राजमार्गको मलेखुबाट ताल्ती जाने सडकका दुई किलोमिटरको दुरीमा सञ्चालनमा ल्याइएको लिचि बन रिसोर्टले धेरैको ध्यान तान्ने अनुमान गर्न सकिन्छ । मलेखु भण्डारा सडक अहिले कालोपत्रे हुँदैछ । रिसोर्टसम्म पुग्ने सडक त करिव करिव कालापत्रै भैसकेको छ । काँकी बाम पनि धमाधम हुँदैछ । भविष्यमा चिन र भारत जोड्ने छोटो दुरीको सडकको रुपमा यसलाई लिने गरिएको छ । त्यसैले पनि यो सडक चल्तीको सडक हुने भएकोले रिसोर्टको संभावना देखेर लगानी गरेको बताउनुहुन्छ प्रोप्राइटर राजन कँडेल ।
शुरुमा एअरलाइन्स र पछि औद्योगिक क्षेत्रमा काम गर्नुभएका राजन कँडेल राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अंग पर्यटन क्षेत्र पनि हो र यसको प्रवद्र्धन गर्न होटल तथा रिसोर्टहरु सञ्चालन गर्नुपर्छ भन्नुहुन्छ । “देश विकासका लागि पर्याप्त संभावना बोकेको क्षेत्र पर्यटन क्षेत्र हो, विगतमा देशको अस्थिर राजनैतिक अवस्थाले थिलथिलो भएको पर्यटन क्षेत्रलाई उद्योगको रुपमा विकसित गर्नु हामी सबैको दायित्व हो । पर्यटन उद्योग पूर्णरुपमा सेवामा आधारित व्यवसाय भएकाले अन्य उद्योग व्यवसायको तुलनामा यसको विकास र प्रवद्र्धन बढी चुनौतिपूर्ण हुनुका साथै सम्वेदनशील पनि छ” उहाँ बताउनुहुन्छ ।

कुनै एक पक्षमा आएको परिवर्तनले अर्को पक्षमा तुरुन्त असर पार्छ । तर यसो भन्दैमा सन्तुलित रुपमा पर्यटन व्यवस्थापन गर्न नसकिने भने होइन । पर्यटन उद्योगको सन्तुलित व्यवस्थापनका लागि यस क्षेत्रका विज्ञहरुको सल्लाह र सुझाव अनुसार उपयोगी र प्रभावकारी कार्यक्रम तथा रणनीति तय गरी सरकारी र नीजि क्षेत्र एक भई दृढताका साथ पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा अघि बढ्नु आजको अनिवार्य आवश्यकता बनेको हो ।
कृषि–पर्यटनको एकिकृत विकास योजनाले पर्यटन क्षेत्र विस्तार भई पर्यटकको प्रत्यक्ष सहभागितामा मौलिक उत्पादनको समेत विकास गर्न सकिने भएकोले लिचि, अर्गानिक तरकारी, अन्य फलफुल र रिसोर्टलाई एकिकृत कार्यक्रमको रुपमा अघि बढाएको कँडेलले बताउनुहुन्छ ।