बुधबार थप २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर विकास देवकोटाले तीन वर्षका बच्चासहित २५ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार सय २७ पुगेको छ । बुधबार देखिएका सङ्क्रमित तीनदेखि ४८ वर्ष उमेर समूहका छन् । सङ्क्रमितमध्ये सात जना महिला र १८ जना पुरुष छन् ।
कपिलवस्तुका ३ वर्षका बालक पनि सङ्क्रमित भएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकेमा नरैनापुर र खजुराका गरी ६ पुरुष सङ्क्रमित भएका छन् ।
त्यस्तै धनकुटामा पाँच, कपिलवस्तुमा बालबालिका र महिलासहित १३ जना नयाँ सङ्क्रमित थपिएका छन् भने नवलपरासी पश्चिममा क्वरेण्टीनमा रहेका एक जना पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ ।
नेपालमा अहिलेसम्म ३८ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण देखिएकाे छ । कोरोना सङ्क्रमण कारण अहिलेसम्म दुई जनाको ज्यान गएको छ भने ४५ जना उपचारपछि निकाे भएका छन् ।