धादिङको बेनिघाट रोराङ गाउँ पालिका वडा नम्वर १० र गजुरी गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ नम्बर वडाका कुपोषित बालबालिकाको परिवारलाई खाद्यान्न तथा सरसफाई स्वच्छता सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

वेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर १० का ३९ घर र गजुरी गाउापालिकाको ३ वडाका गरि १ सय १० घरलाई राहत सामाग्री वितरण गरिएको हो । बेनिघाट रोराङ गाउँपालिकामा जनकपुरधाम स्थित भोर नामक संस्थासँगको साझेदारीमा शान्ति नेपालले खाद्यान्न तथा सरसफाई स्वच्छता सामग्री वितरण गरेको हो ।

कुपोषित बालबालिकाका परिवारलाई प्रति परिवार ३० किलो चामल, ३ किलो सर्वोत्तम  पिठो, खाने तेल २ लिटर, दाल २ किलो,  एक क्रेट अण्डा, मिश्रित गेडागुडी २ किलोको साथै ५ वटा हातधुने सावुन, २ वटा लुगाधुने सावुन, मञ्जन १ र ब्रश ३ थान स्वच्छता सामाग्री वितरण गरिएको शान्ति नेपालका परियोजना संयोजक लाल प्रसाद पोखरेलले बताउनुभयो । चेपाङ समुदायमा आफ्नो आम्दानीले औषत ६ महिना मात्र खान पुग्छ भने बैशाखदेखि श्रावणभरी बहुसंख्यक परिवार ज्याला मजदुरीमा निर्भर हुन्छन्।

विश्वब्यापी कोरोनाको महामारीका कारण आर्थिक क्षेत्र पनि नराम्ररी प्रभावित हुँदा ज्यालादारी कामको अभाव भएको र अती विपन्न परिवारमा खाद्य संकट बढ्दो छ । परिणामत समुदायमा कुपोषित बालबालिकाको संख्या पनि बढ्दै गएको छ  । कुपोषणको क्षेत्रमा काम गर्दै आएको शान्ति नेपालले यस विषम परिस्थितिमा कुपोषणका कारण बालविकासमा पर्ने क्षति न्यूनिकरणका लागि विशेष पोषण प्याकेज वितरण गर्ने योजना बनाएको छ ।

शुक्रबारअब बाँकी सबै वडाका परिवारलाई राहत वितरण गरिने शान्ती नेपालका उद्धव चेपाङले जानकारी दिनुभयो । यस्तै हिजो बेनिघाट रोराङ गाउँपालिका वडा नम्वर ६ को ३७ घर, वडा नम्वर ८ को  २३ घर र ९ को १७ घर गरी ७७ घरधुरलिाई राहत वितरण गरिएको थियो ।

बेनिघाट रोराङ गाउँपालिकाको २०५ घर परिवारका २१० कुपोषित बालबालिका र गजुरी गाउँपालिकाको ५८ घर परिवारका ६१ जना कुपोषित बालबालिकालाई राहत वितरण गर्न लागेको  शान्ती नेपालका सामुदायिक स्वास्थ्य सहजकर्ता कुमार चेपाङले जानकारी दिनुभयो ।

Facebook Comments