
लामो समय पछि शनिबार धादिङवेशीमा मल आयो । निलकण्ठ सहकारीले मल ल्याउदा किसानहरुको भिड थामि नसक्नुभयो । कोरोना रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यलय धादिङले निषेधाज्ञा जारी गरेको छ । तर शनिवार निलकण्ठ शहकारी संस्था लिमिटेडले वितरण गरेको युरिया मल लिनलाई देखिएको तछामछाडको भिडले निषेधाज्ञा र कोरोनालाई गिज्याईरहेको देखिन्थ्यो ।
सहकारीले ४ सय २० बोरा मल ल्याएर एकबोरा तीन जनालाई बाढेको छ । मल लिन आएका किसान वेफिक्रि भिडभाड गर्दै मल लिने चटारोमा थिए । विहान ५ बजेदेखिको ठेलमठेल विहान ११ बजे सम्म नै चल्यो । न स्वास्थ्य सुरक्षाका उपाय अपनाईएको थियो नत भौतिक दुरी । मास्क लगाउने भन्दा नलगाउने किसानहरु ब्ढि देखिन्थे ।

भिड व्यवस्थापनमा सहकारीको कर्मचारी र नजिकै रहेको प्रहरी पनि टुलुटुलु हेरेर बसिरहेका थिए । सहकारीले मल वितरणमा देखाएको अव्यवस्थीत क्रियाकलापका कारण कोरोनाको जोखीम झन् बढ्न सक्ने स्थानियले बताएका छन् । धादिङमा हरेक वर्ष किसानलाई मलको अभाव हुने गरेको छ । समयमा आवश्यकता अनुसार मलको अभाव परिपूर्ती हुन नसक्दा किसानले वर्षेनी समस्या झेल्दै आएका छन् । मल आवश्यक पर्ने मुख्य सिजनमै अभाव हुँदा किसानहरु चिन्तित बनेका छन् ।
रोगले भन्दा पनि भोकले मरिन्छकी भन्ने चिन्ता आम किसानमा छ । यो वर्ष धान रोपाईको लागि मनसुनले साथ दिएपनि मल अभाव हुदा धान उत्पादनमा कमी आउने होकी भनेर किसानहरुले अड्कल काटेका छन् । सहकारीले जसोतसो मल वितरण गरेपनि पारर्दशी ढङ्गले भने मल वितरण नगरेको किसानहरुले आरोप लगाएका छन् । विहान ७ बजेदेखि चर्काे घाममा लाईनमा बस्दा पनि रित्तो हात फर्किनुपरेको निलकण्ठ ८ ससाहसका शालिग्राम अधिकारीले गुनासो गर्नुभयो ।

४ सय २० बोरा मल एक बोरा बराबर ३ जनलाई वितरण गर्दा १२ सय ६० जनालाई वितरण हुनुपर्ने हो तर त्यस्तो नभएको अधिकारीले भन्नुभयो । शालिगा्रम बाइट १मल वितरणमा पक्षपात भएको भन्दै एकछिन विवाद समेत बढेको थियो । शनिबार मल नपाएर अधिकारी जस्तै धेरै किसानहरु रित्तै हात फर्किएका छन् । मल वितरणमा भएको लापर्बाहीकै कारण कतिपय किसानहरु रित्तो हात फर्किन बाध्य भएको किसानहरुले गुनासो गरेका छन् ।
आगामी दिनमा किसानलाई पहिलेै सुचना दिएर व्यवस्थित ढंगले मल वितरण गरे किसानले दुख नपाउने अधिकारी बताउनुहन्छ । धादिङमा कृषि सामाग्री संस्थान शाखा कार्यलय गजुरीबाट अनुमती पाएका कृषि सहकारीहरुले मात्र मल वितरण गर्न पाउने नियम रहेको छ । अहिले सम्म ५९ ओटा सहकारीले मात्र धादिङमा अनुमती पाएर किसानहरुको लागि अनुदानमा मल वितरण गर्दे आएको छ । तर समयमा माग अनुसारको मल आपूर्ती गर्न नसक्दा किसानले तीन गुणा महंगोमा बजारबाट मल किन्न बाध्य छन् ।

यस्तै साल्ट टे«डिङ काठमाडौंले पनि मल वितरण गर्दे आएको छ । धादिङ्गमा १६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । जिल्लामा धान लगायत अन्य कृषि वालीको लागि लगभग ७ हजार ५ सय मेट्रिकटन मल आवश्यक पर्ने गरेको कृषि संस्थान संस्थान गजुरीका प्रमुख विनोद शर्माले बताउनुभएको छ । यस्तै १६ गते सम्म रासायनिक मल धादिङ आईपुग्ने पनि कृषि सामाग्री संस्थान शाखा कार्यलय गजुरीले जनाएको छ ।