गंगाजमुना गाउपालिका वडा नम्वर ६ का वडा सदस्य एवम् न्यायिक समितिका सदस्य डम्बर बहादुर ढकालको मंगलबार असामयिक निधन भएको छ ।
केही दिनदेखि बिरामी हुनुभएका ढकालको मंगलबार बिहान उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै निधन भएको धादिङ अस्पतालले जनाएको छ । अस्पतालका अनुसार निधन भएका ढकाल उच्च रक्तचाप, सुगर र स्क्रब टाइफसबाट पीडित हुनुहन्थ्यो ।
केही दिनदेखि ज्वरो आएपछि मंगलबार उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै उहाको निधन भएको अस्पतालले पुष्टि गरेको धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर त्रिभुवनचन्द्र झाले जानकारी दिनुभयो ।
मंगलबार अस्पताल पुग्नुभन्दा पहिले नै निधन भैसकेको ढकालको कोरोना संक्रमणबाट निधन भएको भनेर प्रचार भएपछि जिल्लाबासीहरुमा एक किसीमको त्रास फैलिएको छ । तर डाक्टर झाले जिल्लाबासीलाई कोरोनाबाट निधन भएको भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ ।
मृतक ढकाललाई कोरोना संक्रमण भए नभएको पुष्टि गर्न आजै स्वाब संकलन गरेर पठाइसकेकोले रिपोर्ट नआएसम्म केही भन्न नसकिने समेत डाक्टर झाले बताउनुभयो । धादिङ लगायत देशभर नै कोरोनाको संक्रमण बढ्दो अवस्थामा रहेकोले जिल्लाबासीलाई सुरक्षित भएर बस्न झाले आग्रह गर्नुभएको छ ।
हिजोआज कुनै पनि व्यक्तिको निधन भयो भने कोरोना संक्रमणबाटै निधन भयो भनेर धेरैजसोले अड्कलबाजी गर्ने गरेको पाइन्छ तर त्यस्तो हल्लाको पछि लागेर ससंकित नबनी बरु सुरक्षित भएर बस्न डाक्टर झाले सुझाव दिनुभएको छ ।
मृतक वडा सदस्य ढकालको असमायिक निधन प्रति गंगाजमुना गाउँपाकिाले श्रद्धाञ्जली अपर्ण गरेको छ ।