जिल्ला प्रहरी कार्यालय धादिङले चाडपर्वमा हुने आपराधिक घटना रोक्नको लागि एकिकृत विशेष सुरक्षा योजना बनाएर काम गर्ने भएको छ ।

चाडपर्वमा हुने लुटपाट, जुवातास, जाँडरक्सी खाएर होहल्ला गर्ने, विभिन्न घरेलु हिंसा जस्ता घटना रोक्नको लागि विशेष योजना बनाएर अघि बढेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खड्काले बताउनुभयो ।

सुरक्षा निकायलाई चाडपर्वमा हुने आपराधिक घटना न्यूनिकरणको चुनाती सँगै यस वर्ष कोभिड १९ को महामारीलाई रोकथाम तथा नियन्त्रण गर्नुपर्ने थप चुनौती आएकाले एकिकृत सुरक्षा योजना बनाएको प्रमुख प्रहरी उपरिक्षक खड्काले बताउनुभयो ।

सुरक्षाको दृष्टिकोणले धादिङ अतिसंवेदनशिल जिल्ला भएका कारण यो वर्षको चाडपर्वमा सुरक्षाका सबै निकायहरु खटि जिल्लाका नागरिकहरुलाई सुरक्षा प्रदान गरिने उहाँले बताउनुभयो । यस्पाली जिल्ला प्रशासन कार्यालयको समन्वयमा रहने गरेर आवश्यकता अनुसार शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान लगायतका अन्य सुरक्षा निकाय परिचालन पनि गरिनेछ ।

धादिङमा पनि कोरोनाको संक्रमण दर दिनानु दिन बढिरहेका कारण नागरिक सचेत गराउन गाडीमा माईकिङ गर्ने, स्थलगत रुपमै जनचेतना मुलक कार्यक्रम संञ्चालन गर्ने, साविकको भन्दा बढि प्रहरी कर्मचारीहरु खटिई पैदल गस्ती, मोटरसाईकल गस्तीहरु बढाएको उहाँले जानकारी दिनुभयो । यस्तै सुरक्षाको दृष्टिकोणले बढि जोखीम क्षेत्रहरुलाई पहिचान गरि चेक पोईन्टहरु बढाउने काम पनि गरिरहेको उहाँको भनाई छ ।
कोरोना संक्रमणको दर उच्च रहेकाले जहाँ छौं त्यही चाडपर्व मनाउन समेत उहाँले आग्रह गर्नुभयो । विश्वव्यापी फैलिएको कोभिड १९ को सक्रमणलाई मध्यनजर गर्दै अत्यन्त अनुशासीत, सुरक्षाका मापदण्डलाई अंगिकार गर्दै सतर्क र सजग हुँदै चाडपर्वहरु शान्त रुपमा मनाउन धादिङका नागरिकहरुलाई अनुरोध समेत गर्नुभएको छ ।

Facebook Comments