धादिङमा ३ वर्षको अवधिमा १ सय १५ जना महिला तथा बालिका यौनजन्य हिंसाबाट प्रभावित भएका छन् । आर्थिक वर्ष २०७४/०७५ मा ३२ जना, आर्थिक वर्ष ०७५/०७६ मा ४३ जना र आर्थिक वर्ष २०७६/०७७ मा ४० जना महिला तथा बालिका यौनजन्य हिंसाबाट प्रभावित भएको जिल्ला प्रहरी कार्यालय धादिङको तथ्याङ्क छ ।

यस्तै चालु आर्थिक वर्षको साउन महिनादेखि अहिलेसम्म १५ जना यौनजन्य हिंसाबाट प्रभावित भएको पाइएको छ । यौनजन्य हिंसाका अधिकांश घटनामा आफन्त र नजिकको मान्छेकै संलग्नता रहेको पाइएको लामो समयदेखि हिंसा प्रभावितहरुको हकमा काम गर्दै आउनुभएका महिला अधिकारकर्मी एवम् अधिवक्ता राधिका सापकोटाले बताउनुभयो । यस्तै जिल्लामा ६२ प्रतिशत १८ वर्षमुनिका बालिका यौनजन्य हिंसाबाट प्रभावित भएका छन् ।

यौनजन्य हिंसामा पनि बालिका बलात्कारको घटनाको स्थिति भयाभह देखिएको सापकोटा बताउनुहुन्छ । अधिकांश घटनामा आफन्त र नजिकको मान्छेबाटै वलत्कृत हुने हुँदा प्रभावितहरुलाई पुनस्थापना समस्या हुने गरेको, परिवार र आफन्तले घरमा राख्न अस्वीकार गर्ने गरेको पाएको सापकोटाले जानकारी दिनुभयो । यस्तै नेपालमा यौनजन्य हिंसाबाट प्रभावितहरुका लागि न्यायिक प्रकृया झन्झटिलो हुदा पनि न्याय दिलाउन समस्या हुने गरेको छ ।

जिल्लामा निरन्तर सुनुवाईको अभ्यास हुन नसक्नु, बन्द इजलास भनिएपनि अनुसन्धान र न्यायिक प्रकृयामा पीडितको गोपनियता कायम हुन नसक्नु , अदालतले प्रदान गर्ने क्षतिपुर्ति कम हुनु र त्यो पनि प्राप्त गर्न नसक्नु, प्रभावितको सुरक्षाको व्यवस्था नहुनु, प्रभावितको वयान प्रमाणीत गर्ने व्यवस्था नहुनु जस्ता कारणले प्रभावितहरु झनै पीडित भएर बस्नुपर्ने अवस्था रहेकोले यसतर्फ राज्यले सोच्न आवश्यक रहेको सापकोटा बताउनुहुन्छ ।

यस्तै जिल्लामा २०७५ साल भदौ १ गतेदेखिको तथ्याङ्क हेर्ने हो भने अदालतबाट यौनजन्य हिंसाका घटनामा क्षतिपूर्ति दिने फैसला भएपछि क्षतिपूति १ जना पनि प्राप्त गरेका छैनन् ।

Facebook Comments