धादिङका गुठी पीडित नागरिकहरुले मंगलबार जिल्ला मालपोत कार्यालय धादिङ घेराउ गरेका छन् । गुठी जग्गाको विषयमा भएको समस्या समाधानको माग गर्दै निलकण्ठ नगरपालिका र नेत्रावती डबजोङ गाउपालिकाका नागरिकहरुले जिल्ला मालपोत कार्यालय घेराउ गरेका हुन् ।

गुठि पीडित नागरिकहरुले आफ्नो नाममा रहेको जग्गा सरकारले थाहै नदिइ मोही बनाएको भन्दै त्यो सच्याउन माग गर्दै विरोधमा उत्रिएका हुन् । आज निलकण्ठ र नेत्रावती डबजोङका करिब १५ सयभन्दा बढी स्थानीयहरुले मालपोत कार्यालय अगाडी धर्ना दिदै सरकारले मोही बनाएको जग्गा आफ्नो नाममा फिर्ता दिन माग गर्दै नाराबाजीसमेत गरेका थिए ।

धादिङको निलकण्ठ नगरपालिका र नेत्रावती डबजोङ गाउपालिकाका करिब १५ सय नागरिकहरुको आफ्नो पैतृक सम्पति जग्गाको नापी हुँदा हुँदै २०७४ सालदेखि मालपोत कार्यालयबाट एक्कासी श्री ५ को वायुगुठीलाई जग्गा धनी बनाई जग्गा धनीलाई मोही बनाएर प्रमाणपुर्जा प्रदान गरेकोे थियो ।

यस विषयमा पीडितहरुले सम्बन्धीत व्यक्तिहरुको लालपूर्जा यथावत ढाँचामा सच्याउन पाउँ भनी जिल्ला मालपोत कार्यालय, गुठी संस्थान विभाग र  मन्त्रालयमा ताकेता गर्दा २०७६ बैशाख ११ गते गुठी संस्थान कार्यालय त्रिपुरेश्वर काठमाण्डौंले जिल्ला मालपोत कार्यालय धादिङमा सम्पूर्ण विवरण खुलाई पठाई दिने भनी पठाएको पत्रको कुनै कार्यान्वयन नभएकाले पीडितहरु आन्दोलनमा उत्रिन बाध्य भएको गुठी संघर्ष समितिका अध्यक्ष इश्वरी बहादुर लम्सालले बताउनु भयो ।

गुठी पीडित नागरिकहरुको धर्नाले मालपोत कार्यालयको काम आज दिनभर ठप्प भएको थियो । विरोधमा उत्रिएका नागरिकहरुलाई जिल्ला मालपोत कार्यालय धादिङका प्रमुख रामकृष्ण तामाङले समस्या समाधानको लागि पहल गर्ने भन्दै आश्वासन दिएपछि नाराबाजी गर्न रोकिएको थियो ।

अहिले पछिल्लो समय अनलाइन प्रणालीबाट तथ्याङ्क अद्यावधिक गर्ने क्रममा त्रुटि हुदा नागरिकले दुख पाएको तामाङले बताउनुभयो । सरकारले उक्त त्रुटि सच्याउने र अनलाइन प्रणालीमै मोही हटाउन पहल गर्ने सहमति भएको बताउनुभयो । यस्तै समस्या समाधानको लागि मंसिर २५ गते भुमि सुधार मन्त्रालय काठमाण्डौंमा गुठि पीडित नागरिक  र सरकारका सरोेकारवालाहरुबिच बैठक बस्ने गरि सहमति समेत भएको तामाङले बताउनुभयो ।

Facebook Comments