
लागु औषधको ओसार पसारलाई नियन्त्रण गर्न बागमती प्रदेश प्रहरीले अबैध गाँजा फडानी अभियान सुरुवात गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले प्रदेशका धादिङ, मकवानपुर, चितवन, सिन्धुली लगाएतका जिल्लाहरुमा अवैध लागु औषधको खेती हुने र पुर्व पश्चिम राजमार्गको धादिङ, चितवन र मकवानपुर ओसार पसार गर्ने मार्ग रहेको हुँदा लागु औषधको गैर कानुनी खेती र ओसार पसारलाई नियन्त्रण गर्ने उद्देश्यले कारबाही अभियान संचालन गरीएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
अभियान अन्तरगत ३ सय ७१ बिगाह, ५६ कठ्ठा २७ धुर जग्गामा लगाइएको गाँजा खेती नष्ट गरीएको छ । यस अभियानलाई प्रभावकारी बनाउन प्रदेश अन्तर्गतका बिभिन्न जिल्लाहरुमा गरी ४ सय २८ जना प्रहरी कर्मचारी परिचालन गरिएको थियो । मकवानपुरमा सबैभन्दा बढी २३५ बिगाह ५ कठ्ठा ५ धुरमा लगाईएको गाँजा खेती नष्ट गरीएको छ ।
यस्तै धादिङमा २१ बिगाह ८ कठ्ठा, चितवनमा ५० बिगाह, सिन्धुलीमा ६३ बिगाह २५ कठ्ठा १० धुर गरी मंसिर महिनामा मात्रै ३ सय ७१ बिगाहमा लगाईएको गाँजा खेती नष्ट गरीएको छ । मंसिर महिनालाई लागु औषध बिरुद्धको कारबाही अभियानको रुपमा संचालन गर्ने क्रममा गाँजा ९६ केजी, लागु औषध चरेश ५० केजी बरामद भएको छ ।
त्यस्तै औषधीजन्य लागु औषध अन्तर्गत डाईजेपाम ७५ एम्पुल, फेनार्गन ७२ एम्पुल, नुर्फिन ७५ एम्पुल, नाईट्रोभेट १२०० ट्याव्लेट, नाईट्रेजेपाम ४५ टयाब्लेट लगाएतका लागु औषध बरामद गरीएको छ । मंसिर महिना भित्र लागुऔषध ओसारपसार गर्ने २० जना व्यक्तिलाई समेत पक्राउ गरीएको छ भने ४ जना फरार रहेकाको खोजतलास भैरहेको छ । लागु औषध ओसारपसार संलग्न ६ वटा वटा सवारी साधन समेत नियन्त्रणमा लिईएको छ ।
बाग्मती प्रदेश अन्तर्गतका बिभिन्न जिल्लाहरुमा अबैधरुपमा लगाईएको गाँजा, अफिम खेती नष्ट गर्ने कार्य अझैसम्म सम्पन्न नभईसकेकोले लागु औषधको अबैध खेती नष्ट गर्ने अभियानलाई पुष महिनामा पनि निरन्तरता दिने कार्य भैरहे वागमती प्रदेश प्रहरी कार्यलयका बरिष्ठ प्रहरी उपरीक्षक एवं प्रवक्ता मीरा चौधरीले बताउनुभयो ।