
धादिङ जिल्लामा कोभिड १९ को खोप अभियान बुधबारबाट सुरु भएको छ ।
स्वास्थ्य कार्यालय धादिङका प्रमुख डाक्टर भुवन पौडेल र धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर त्रिभुवनचन्द्र झालाई खोप लगाइदिएर खोप अभियानको सुरुवात गरिएको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।
• धादिङ जिल्लामा कोभिड १९ खोप अभियान बुधबारबाट सुरु हुदै
पहिलो चरणको खोप अभियानअन्तर्गत आज १ सय जनालाई खोप लगाइएको छ । जसमा नीलकण्ठ नगरपालिका, ज्वालामुखी गाउपालिका र सिद्धलेक गाउपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिने व्यक्तिहरुको लागि खोप लगाईएको हो ।
बुधबारदेखि सुरु भएको खोप अभियान माघ २० गतेसम्म संचालन हुने छ । केही कारणले खोप लगाउन छुटेको खण्डमा माघ २४ गते खोप लगाउन सकिने जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो । छिमेकी देश भारतबाट प्राप्त भएको कोभिशिल्ड नामक खोप धादिङमा १८ वर्षभन्दा माथिका १३ सय ४० जनालाई लगाइने छ ।