धादिङ जिल्लामा पनि कोभिड १९ खोप अभियान २०७७/०७८ बुधबारबाट सुरु हुदैछ । पहिलो चरणको खोप अभियान अन्तर्गत धादिङ जिल्लामा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिने व्यक्तिहरुको लागि खोप लगाउन खोजिएको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डाक्टर भुवन पौडेलले जानकारी दिनुभयो ।

जिल्ला खोप समन्वय समिति धादिङको बैठक बसेर धादिङमा संचालन हुने कोभिड १९ खोप अभियान २०७७/०७८ बारे पौडेलले यस्तो जानकारी दिनुभएको हो । धादिङमा जम्मा १३ सय ४० जनालाई पुग्ने गरि खोप प्राप्त भएको पौडेलले जानकारी दिनुभयो । छिमेकी देश भारतबाट प्राप्त भएको कोभिशिल्ड नामक खोप लगाउन खोजिएको हो । धादिङमा १८ वर्षभन्दा माथिका १३ सय ४० जनालाई खोप लगाइने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

धादिङमा बुधबार धादिङ अस्पतालमा बिहान १० बजेबाट स्वास्थ्य कार्यालय धादिङका प्रमुख डाक्टर भुवन पौडेल र धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर त्रिभुवनचन्द्र झालाई खोप लगाइदिएर खोप अभियानको सुरुवात गरिनेछ । माघ १४ गतेदेखि संचालन हुने खोप अभियान माघ २० गतेसम्म संचालन हुने र कोही छुटेको खण्डमा माघ २४ गतेसम्म खोप लगाउने कार्यक्रम रहेको पौडेलले बताउनुभयो ।

यस्तै खोप लगाउने सन्दर्भमा गर्भवती महिला, सन्तानको योजना बनाएका व्यक्ति, ज्वरो आएका बिरामी, कोभिड १९ भइ निको भएर दुइ महिना ननाघेका व्यक्तिहरुले यो खोप लगाउन नहुने डाक्टर पौडेलले सुझाव दिनुभएको छ ।

Facebook Comments