धादिङमा विहिबार थप १ सय २४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
संक्रमण पुष्टी हुनेमा निलकण्ठ नगरपालिकाका ८८ र गल्छी गाउपालिकामा १७ गरेर १ सय ५ जना जिल्ला भित्र र १९ जना जिल्ला बाहिर गरेर १ सय २४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । विहिबार २० जना कोरोना मुक्त भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
योसँगै धादिङ जिल्ला भित्रको सक्रिय केश ६ सय ८८ र जिल्ला बाहिरको सक्रिय केश २ सय ३४ गरेर जिल्लाको जम्मा सक्रिय केश ९ सय २२ पुगेको छ । आज बेनिघाट रोराङ्गमा ४८, गजुरीमा ३ र त्रिपुरासुन्दरीमा २५ गरेर विहिबार जिल्ला भित्र ७६ स्वाब संकलन भएको स्वास्थ्य कार्यालय धादिङका सिआईसिटि सहजकर्ता उन्नती महर्जनले जानकारी दिनुभयो ।
कोरोना भाइरसको सङ्क्रमणबाट नेपालमा थप दुई सय १४ जनाको मृत्यु
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप दुई सय १४ जनाको ज्यान गएको छ । यसअघिको विवरण र पछिल्लो २४ घण्टामा समेत गरी दुई सय १४ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार हजार चार सय ६६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा आठ हजार नौ सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १९ हजार चार सय ७४ जनाको पीसीआर र सात सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा आठ हजार नौ सय ६० जनामा सङ्क्रमण पुष्टि भएको हो । योसहित नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या चार लाख ३१ हजार एक सय ९१ पुगेको छ ।
यस्तै २४ घण्टामा पाँच हजार ५५ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख २१ हजार पाँच सय १८ पुगेको छ । अहिले नेपालमा एक लाख पाँच हजार दुई सय सात जना सक्रिय सङ्क्रमित छन् । आज काठमाण्डौ उपत्यकामा तीन हजार पाँच सय ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डौमा दुई हजार सात सय ३३, ललितपुरमा चार सय ८१ र भक्तपुरमा तीन सय ४८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।