कोभिड–१९ सङक्रमण रोकथामका लागि धादिङमा जेठ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आजको बैठकले उक्त निर्णय गरेको हो । यसअघि धादिङ जिल्लाभर वैशाख २१ गतेदेखि भोलि ३१ गतेसम्मकालागि निषेधाज्ञा जारी भएको थियो । यसपालि पनि निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान ६ देखि ९ बजेसम्म खुला रहने छ ।
उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, दुध, फलफुल, तरकारीका पसल खुला हुने छ । मानिसको भिडभाड हुने सबै गतिविधिमा भने रोक लगाइएको छ । सर्वसाधारणले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्किन पाउने छैन ।
सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ । भिडभाडगरि विवाह, व्रतबन्ध तथा अन्य धार्मिक कार्य गर्न रोक लगाइएको छ ।
घरमै उक्त कार्य गर्दा १० जनाभन्दा बढी उपस्थित हुन नपाइने बैडकको निर्णयमा उल्लेख गरिएकोछ । बैंक तथा वित्तिय संस्थाहरुले सातामा २ दिनमात्रै सेवा दिन आग्रह गरिएको छ । यसपटकको निषेधाज्ञालाई भने कडा बनाइएको र निषेधाज्ञा उल्लंघन गर्नेलाई कानून बमोजिम कारवाहि गर्ने केन्द्रका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिनुभयो ।