धादिङको गजुरी गाउँपालिकाबाट मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूको साथबाट चोरीसँग सम्बन्धित अनुसन्धानका क्रममा एउटा मोटरसाइकल र भरुवा बन्दुकजस्तो देखिने हतियारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बुधबार बिहान करिब ६ बजे गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गजुरी र अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरी टोलीले गजुरी गाउँपालिका–८ मजुवाका १८ वर्षीय बुद्धि बमकाजी भन्ने सागर तामाङ र सोही वडाको सिउरेनीका २२ वर्षीय शिशिर तामाङलाई उनीहरूकै घरबाट पक्राउ गरेको हो।
पक्राउ परेका सागर तामाङको साथबाट सवारी दर्ता किताब ब्लुबुक नभएको बा.प्र.०२–०६७ प ७८१३ नम्बरको कालो–निलो रङको २२० सीसीको पल्सर मोटरसाइकल र भरुवा बन्दुकजस्तो देखिने एक थान हतियार बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेका दुवै जना यसअघि पनि चोरीसम्बन्धी कसुरमा संलग्न रहेको खुलेको छ। शिशिर तामाङविरुद्ध काठमाडौंको प्रहरी वृत्त कालिमाटी र थानकोटमा चोरीसम्बन्धी मुद्दा दर्ता भई अनुसन्धान भइरहेको तथा सागर तामाङविरुद्ध पनि प्रहरी वृत्त थानकोटमा चोरीसम्बन्धी मुद्दा दर्ता भएको पाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका शिशिर तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट, काठमाडौं पठाइएको छ। सागर तामाङमाथि भने हातहतियार खरखजाना ऐन, २०१९ बमोजिम इलाका प्रहरी कार्यालय गजुरीबाट आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।











