प्रतिपक्ष दल नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि काठमाण्डौमा शुरु हुँदैछ ।
एमालेले यो भेलालाई आउँदो पालिका चुनावको तयारीमा केन्द्रित गर्ने भएको छ । स्थायी समितिको हिजोको बैठकले भेलालाई पालिका चुनाव केन्द्रित बनाउने निर्णय गरेको हो ।
हिजोको बैठकमा भेला तयारी समितिका संयोजक भानुभक्त ढकालले व्यवस्थापकीय तयारी र दुईदिने कार्यक्रम तालिकाबारे बैठकलाई ब्रिफिङ गर्नुभएको थियो ।
उपमहासचिव लेखराज भट्टकाअनुसार राष्ट्रिय भेलामा अध्यक्ष केपी ओलीले वर्तमान राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीले गर्नुपर्ने कामबारे कार्यपत्र प्रश्तुत गर्नुहुनेछ ।
त्यस्तै, वरिष्ठ नेता विद्यादेवी भण्डारीले समसामयीक राष्ट्रिय राजनीति र पार्टीका विषयमा कार्यपत्र प्रश्तुत गर्ने उपमहासचिव भट्टले जानकारी दिनुभयो ।
उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले अलग–अलग कार्यपत्र पेस गर्नुहुनेछ । भेला काठमाण्डौको बबरमहलमा रहेको कार्की ब्याङ्क्वेटमा हुनेछ । भेलामा पार्टीका संघीय संसद्, प्रदेशसभा र पालिकाका जनप्रतिनिधिलगायत सहभागी हुनेछन् ।
भेलामा गाउँपालिकादेखि केन्द्रीय कमिटी तहसम्मका तीन हजार ४०० भन्दा धेरै प्रतिनिधि सामेल हुने पार्टीको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयो । प्रतिनिधिलाई पालिका चुनावको तयारी तथा पार्टीले गर्नुपर्ने कामबारे लिखित सुझाव दिन आग्रह गरिएको छ ।
भेलाको उद्घाटन पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ ।
आज बिहान ११ बजेपछि हुने उद्घाटनलगत्तै बन्दसत्र शुरु गरी भोलि भेला समापन गर्ने एमालेको तयारी छ । एमालेले भोलि पार्टीको केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ ।










