नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारीले आफ्नो प्यानल सहितको उम्मेद्वार घोषणा गरेसँगै भिमप्रसाद ढुंगानाले पनि आफ्नो प्यानलसहित मुख्य पदका उम्मेदवारको टुंगो लगाएको छ ।
शुक्रबार एक कार्यक्रम गरि ढुंगानाले आफ्नो प्यानल सहितको प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रका सभापति पदमा उम्मेदवारको नाम सार्वजनिक गरेको हो । आसन्न १४ औं जिल्ला अधिवेशनका लागि प्रतिनिधि सभा क्षेत्र नं. १ को सभापतिमा रविसुदन थापा र प्रतिनिधि सभा क्षेत्र नं. २ मा दिपक कोइरालाको नाम टुंगो लगाएको छ ।
प्रतिनिधि सभा १ को प्रदेश सभा ‘क’ मा श्याम रेग्मी र ‘ख’मा रामहरि कंडेलले उम्मेदवारी दिने भएका छन् । त्यस्तै प्रतिनिधि सभा २ को प्रदेश सभा ‘क’ मा ऋषि कुमार श्रेष्ठ र ‘ख’ मा रणबहादुर तामाङले सभापतिमा उम्मेदवारी दिने टुङ्गो लागेको हो । धादिङमा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका भीमप्रसाद ढुंगाना र रामचन्द्र पौडेल पक्षका रामनाथ अधिकारी मुख्यगरी दुई धारमा बाडिएका छन् ।