शुभ दिपावली, नेपाल सम्वद तथा छठ पर्वका अवसरमा प्रेस सेन्टर धादिङले चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । प्रेस सेन्टर धादिङका अध्यक्ष राजन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित वक्ताहरुले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पत्रकार र सञ्चार माध्यमको भुमिकाका विषयमा भनाई सहित शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य एवं प्रमुख अतिथि अप्सरा सिंखडा (दिपा)ले पत्रकारले स्वच्छ र निष्पक्ष ढंगले समाचार तथा सूचना संपे्रष्ण गर्नुपर्ने बताउनुभयोे ।
निर्वाचनको समयमा संञ्चार माध्यम र पत्रकारको भुमिका महत्वपूर्ण हुने भएकाले निर्वाचन केन्द्रित सूचना तथा समाचारलाई पहिलो प्रथामिकतामा राख्न पनि अनुरोध गर्नुभयो । साथै उहाँले परिवर्तनको विरोधीलाई हराउन सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह पनि गर्नुभएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले सामाजिक सस्थामा आवद्ध व्यक्तीहरुले निर्वाचनका विषयमा पक्ष विपक्षमा बोल्न नमिल्ने बताउनुभयो ।
निर्वाचनको आचार संहितालाई पालना गर्दै पत्रकारले पनि कसैको दवाब र प्रभावमा नपरि निष्पक्ष ढंगले कलम चलाउनुपर्ने बताउनुभयो । कार्यक्रमकै अवसरमा प्रेस सेन्टर धादिङले अध्ययन शिलशिलामा वैदेशिक यात्रामा जान लागेका रेडियो विहानीका स्टेशन म्यानेजर एवं प्रेस सेन्टरका शिवप्रसाद देवकोटा र सागर लम्सालाई उज्ववल भविश्यको कामना सहित सम्मान गरेको छ ।











