२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई २८ लाख ७५ हजार रुपैयाँभन्दा बढीका स्वास्थ्य उपकरण हस्तान्तरण

गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई २८ लाख ७५ हजार रुपैयाँभन्दा बढीका स्वास्थ्य उपकरण हस्तान्तरण

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकसहित स्थानीय समुदायलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई २८ लाख ७५ हजार ७ सय ७१ रुपैयाँ बराबरका स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरिएको छ ।

नेपाल सेन्ट जोसेफ क्लुनी सोसाइटीको सहयोग तथा प्रयास नेपाल, धादिङको सहकार्यमा स्वास्थ्य केन्द्रलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएका सामग्रीमा १०० लिटर क्षमताको बाफद्वारा निर्मलीकरण गर्ने मेसिन, सिरिन्जमार्फत नियन्त्रित गतिमा औषधि दिने पम्प, जैविक जोखिमयुक्त मेडिकल फोहोर व्यवस्थापन गर्ने डस्टबिन, गर्भस्थ शिशुको मुटुको धड्कन जाँच्ने डप्लर उपकरण, शव परीक्षण टेबल, नवजात शिशुको पुनर्जीवन तथा आपत्कालीन श्वासप्रश्वास सहायता सेट र बहिरङ्ग सेवा (ओपीडी) मा बिरामी जाँच्ने बेड लगायतका स्वास्थ्य उपकरण तथा सामग्री रहेको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनु भयो ।

स्वास्थ्य उपकरण सहयोगसँगै एक जना प्राविधिक नर्स र दुई जना स्वयंसेवक परिचालन गरी तीन महिनासम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने योजना रहेको छ। यस पहलले स्वास्थ्य केन्द्रको सेवा क्षमता अभिवृद्धि गर्नुका साथै बाढी प्रभावित नागरिक तथा स्थानीय समुदायको स्वास्थ्य सेवामा पहुँच बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष तारानाथ भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा प्रयास नेपालका अध्यक्ष वीरबहादुर श्रेष्ठ, नेपाल सेन्ट जोसेफ क्लुनी सोसाइटीकी अध्यक्ष सिसिलिया दुर्गा श्रेष्ठ, गजुरी गाउँपालिका–५ का वडाध्यक्ष गोविन्द लामिछाने, रेष्टन कँडेल, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रका डा. राजेश कोइराला लगायत सेन्ट जोसेफ क्लुनी सोसाइटीका सिस्टरहरू तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।

स्वास्थ्य उपकरण तथा सामग्री सहयोगले स्वास्थ्य केन्द्रमा आवश्यक स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पु¥याउने गजुरी प्राथमिक स्वास्थ्य केन्द्रका डा. राजेश कोइरालाका बताउनु भयो ।

यो समाचार सेयर गर्नुहोस्
२०Shares
धादिङ अपडेट लेखकको सबै आर्टिकल