२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

३० जिल्लामा उम्मेद्वार विहिन नेकपा एसलाई, थ्रेसहोल्ड कटाउन सकस

३० जिल्लामा उम्मेद्वार विहिन नेकपा एसलाई, थ्रेसहोल्ड कटाउन सकस

कार्तिक २९ । अघिल्लो वर्ष नेकपा एमालेबाट विद्रोह गरी गठन भएको माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले गत स्थानीय तहको चुनावमा ४ लाख भन्दा बढि मत प्राप्त ग¥र्यो । यो मत वडाध्यक्षहरुले प्राप्त गरेको मतका आधारमा हो ।

गत स्थानीय तहको निर्वाचनमा सबै पालिकामा नेकपा एसले उम्मेदवार उठाएको थिएन । उक्त कारण पनि मत कम आएको विश्लेषण भइरहेको छ । स्थानीय निर्वाचनकै समयमा उक्त पार्टीका नेता झलनाथ खनाल र अध्यक्ष माधव कुमार नेपालले पनि थोरै स्थानमा उम्मेदवार उठाउनु कमजोरी भएको स्वीकार गरेका थिए । थोरै उम्मेदवार हुँदा मत संख्या पनि कम हुने स्वाभाविक विश्लेषण थियो ।

गत स्थानीय तहको चुनावलाई नै आधार मानेर विश्लेषण गर्ने हो भने एकीकृत समाजवादीलाई अहिले प्रतिनिधिसभाको चुनावको ३ प्रतिशत थ्रेसहोल्ड कटाउन सकस पर्ने देखिएको छ । त्यतिबेला करिब ४ लाख बढि मत ल्याएको समाजवादीले अहिले प्रतिनिधिसभामा झन् थोरै उम्मेदवार पाएको छ, जसले गर्दा पार्टीले पाउने मत प्रभावित हुने देखिन्छ ।

यस पटकको प्रतिनिधि तथा प्रदेशसभा चुनावमा करिब १ करोड २७ लाख मत खस्ने अनुमान गरिएको छ । निर्वाचन आयोगको विश्लेषणमा एक करोड भन्दा बढि मत सदर हुन सक्छ । त्यसरी सदर मतको तीन प्रतिशत पाएमा राष्ट्रिय पार्टी बन्न सजिलो हुन्छ । त्यसरी हेर्दा करिब ३ लाख भन्दा बढि मत ल्याउनुपर्ने हुन्छ । गत स्थानीय तहमा दलहरूले प्राप्त गरेको मत जति ल्याउनै पर्ने बाध्यतामा नेकपा एकीकृत समाजवादी देखिन्छ ।

यता समाजवादीका नेताहरू भने समानुपातिक प्रणालीमा देशभर मतदान हुने भएकाले ३ लाख मत त सजिलै प्राप्त हुने विश्लेषण गरिरहेका छन् । तर, देशैभरि प्रत्यक्षतर्फ उम्मेदवार नभएका कारण प्रचारप्रसारमा समस्या हुने पनि उनीहरूको आन्तरीक विश्लेषण छ ।

नेकपा एसलाई थ्रेसहोल्ड कटाउन देखिएका चारवटा वाधाहरु

१ : देशभर उम्मेदवार नहुनु

प्रत्यक्षतर्फ एकीकृत समाजवादीका उम्मेदवार धेरै क्षेत्रमा उठेका छैनन् । गठबन्धनका कारण समाजवादीले २० वटा क्षेत्रमा मात्रै प्रतिनिधिसभाका उम्मेदवार उठाएको छ । प्रदेशसभामा केही बढी संख्यामा उम्मेदवार भए पनि ३० वटा जिल्लामा समाजवादीको एउटा पनि उम्मेदवार छैनन् । लुम्बिनी प्रदेशमा प्रदेशसभाका एक जना पनि उम्मेदवार छैनन् ।

२ : गठबन्धन

सत्ता गठबन्धनमा रहेको समाजवादीले गठबन्धनका कारण प्रत्यक्षतर्फका उम्मेदवारहरू फाईदामा हुने भए पनि समानुपातिकतर्फ घाटा लाग्न सक्छ । मतदाताले प्रत्यक्ष र समानुपातिक दुवैतिर एउटै चुनाव चिह्नमा मतदान गर्न सक्छन् । त्यसको घाटा समाजवादीलाई लाग्न सक्छ ।

३ : कार्यकर्ताहरु एमालेमा नै फर्किनु

स्थानीय तहको चुनावपछि समाजवादीका धेरै जिल्लाका नेता र कार्यकर्ताको एउटा पंक्ति एमालेमा फर्किएको छ । प्रदेशसभा र प्रतिनिधिसभामा टिकटको आस गरेका केही नेताहरू टिकट नपाएपछि एमालेमा फर्किएका छन् । त्यसको असर पनि समाजवादीको समानुपातिक मतमा पर्नेछ ।

४ :नयाँको आकर्षण

अहिले स्वतन्त्र र अन्य नयाँ दलका उम्मेदवारहरु प्रति मतदातामा केही आकर्षण देखिएको छ । त्यसको असर पनि समाजवादीलाई पर्नेछ । दलभित्रका असन्तुष्ट र दलप्रति असन्तुष्ट दुवैको मत नयाँ उम्मेदवारलाई जाने सम्भावना धेरै छ । त्यसले गर्दा समाजवादीलाई थ्रेसहोल्ड कटाउन समस्या हुने विश्लेषण भइरहेको छ ।

नेकपा एस कुनकुन जिल्लामा शून्य ?

प्रतिनिधिसभातर्फ २० क्षेत्रमा उममेदवार रहेको एकीकृत समाजवादी ३० जिल्लामा उम्मेदवारविहीन रहेको छ । कतिपय एकदेखि दुईवटा निर्वाचन क्षेत्र भएको जिल्लामा समाजवादी उम्मेदवारविहीन बनेको हो । रुपन्देही, तेह्रथुम, सोलुखुम्बु, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुली, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, गोरखा, मनाङ, लमजुङ, तनहुँ, मुस्ताङ, बागलुङ, पर्वत, म्याग्दी, अर्घाखाँची, रुपन्देहीमा उम्मेदवारविहीन छ । त्यसैगरी, रुकुमपूर्व, रोल्पा, प्युठान, बर्दिया, नवलपरासी पश्चिम, कालीकोट, रुकुमपश्चिम, बैतडी, जाजरकोट, दार्चुला, डडेल्धुरामा पनि एस उम्मेदवारविहीन छ ।

पर्साको ३ को ख मा मित्रवत् प्रतिस्पर्धामा उसका उम्मेदवार छन् । स्याङ्जा २ को क, कपिलवस्तु प्रदेश ख, बाँके २ को क, हुम्ला क, सुर्खेत २ को क र ख र कञ्चनपुरको दुईवटा प्रदेशसभामा समाजवादीका उम्मेदवार गठबन्धनकै उम्मेदवारसँग मित्रवत् प्रतिस्पर्धा गर्दैछन् । – शिलापत्र अनलाईनबाट साभार

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।