यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्न निर्वाचन कार्यालय धादिङले निर्देशन दिएको छ ।
निर्वाचन कार्यालयले एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । प्रतक्षतर्फ मनोनयन पत्र पेस गरेका उम्मेदवारले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनको दफा ७२ को उपदफा (४) अनुसार जिल्ला निर्वाचन कार्यालयमा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची (४०) बमोजिमको ढाँचामा निर्वाचन खर्चको विवरण पेश गर्नुपर्ने निर्वाचन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
विवरण पेश गर्दा तोकिएको हद (सीमा) बमोजिमको रकम मतदाता नामावली खरिद, सवारीसाधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवं सामाजिक सञ्जालसमेत गरि विद्युतीय माध्यम, कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषय शीर्षक उल्लेख गरी बुझाउनु पर्नेछ ।
उम्मेदवारले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसमेत उल्लेख गरी पेश गर्नुपर्नेछ । निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसमेत उल्लेख गरी पेश गर्नुपर्ने निर्वाचन कार्यालय धादिङले जनाएको छ ।
यस्तै निर्वाचनको बेला कोण सभा वा आमसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्च विवरण पनि सम्बन्धीत उम्मेद्वारले आँफैं वा आफ्नो प्रतिनिधि मार्फत मतदान सम्पन्न भएको मितिले १५ दिन भित्र पेश गर्न पनि भनेको छ ।










