चैत्र २० धादिङ – आज ६६ औं राष्ट्रिय सहकारी दिवस – २०७९ धादिङमा प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम गरि मनाएको छ । सहकारी दिवसको यस वर्षको थिम “सहकारीको दिगोपन, स्वनियमन र सुशासन” रहेको थियो ।

धादिङ जिल्ला सहकारी संघ लि. र धादिङ बचत तथा ऋण सहकारी संघ लि.को संयुक्त आयोजनामा आज बिहान सदरमुकाम धादिङबेसी पुच्छारबजारबाट प्रभातफेरी र बीचबजारमा रहेको भैरवी सकोसको सभा हलमा अन्र्तकृया कार्यक्रम गरेको थियो । धादिङ जिल्ला सहकारी संघ लि.का अध्यक्ष रामचन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिती धादिङका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा धादिङ बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष एवं जिल्ला सहकारी संघका संचालक सदस्य नवराज शर्माले “सहकारीको दिगोपन, स्वनियमन र सुशासन” को विषयमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागी सदस्य संस्थाहरु मध्ये विभिन्न पक्षहरुको मुल्याङ्कन सहित नीलकण्ठ –३ धादिङबेसीमा रहेको शिवज्योती महिला सकोसलाइ पुरस्कृत सहित सम्मान पनि गरेको थियो । सहकारी दिवसको अवसरमा आयोजित प्रभातफेरी, अन्र्तकृया कार्यक्रममा विशेष गरि नीलकण्ठ नगरपालिका क्षेत्र भित्रका सहकारी संघ÷संस्थाका सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

धादिङ जिल्लामा कुल ६ वटा विषयगत सहकारी संघ सहित करिब ४ सय ३० वटाको संख्यामा सहकारी संघ÷संस्थाहरु रहेका छन् । सहकारी दिवसको अवसरमा धादिङ जिल्लाको अन्य स्थानहरुमा पनि स्थानीय सहकारी संघ÷संस्थाहरुको आयोजनामा विभिन्न किसिमका रचनात्मक तथा सामाजिक कार्यक्रमहरु भएको थियो ।

सहकारी संघ/संस्थाहरुले हरेक वर्षको चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरेको छ । चितवनमा २०१३, चैत्र २० मा स्थापना भएको नेपालकै पहिलो सहकारी बखान सहकारी संस्थाको सम्झना गर्दै यो दिवस मनाउने गरिएको हो ।

Facebook Comments