२०८३ कार्तिक १२, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

१० हजारको बचत खाताबाट सविताले पाइन् १० लाख, दुई छोराको भविष्यप्रति पलायो आशा

१० हजारको बचत खाताबाट सविताले पाइन् १० लाख, दुई छोराको भविष्यप्रति पलायो आशा

वैदेशिक रोजगारीका क्रममा श्रीमान् गुमाएपछि दुई छोराको पालनपोषण र भविष्यको चिन्तामा रहेकी नीलकण्ठ नगरपालिका–१२, साँकोषकी सविता लामिछाने ढकाललाई कुमारी बैंकले १० लाख रुपैयाँ बीमा रकम प्रदान गरेको छ।

सात वर्षअघि कुमारी बैंकमा १० हजार रुपैयाँ मौज्दात राखेर ‘परिवार सुरक्षा बचत खाता’ खोलेकी सविताले सोही खाताअन्तर्गतको बीमा सुविधाबाट १० लाख रुपैयाँ प्राप्त गर्नुभएको हो। उहाँका श्रीमान् रामप्रसाद ढकालको २०८२ पुस ८ गते मलेसियामा वैदेशिक रोजगारीकै क्रममा मृत्यु भएको थियो।

घरको मुख्य आम्दानीको स्रोत रहेका श्रीमानको निधनपछि १९ महिनाको दुधे बालक र ११ वर्षीय छोराको पालनपोषण तथा भविष्यको चिन्ताले सवितालाई पिरोलिरहेको थियो। यस्तो अवस्थामा बैंकबाट प्राप्त बीमा रकमले उहाँलाई ठूलो राहत मिलेको छ।

कुमारी बैंक लिमिटेड, धादिङबेसी शाखाले मंगलबार आयोजना गरेको चेक हस्तान्तरण कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्मा, बैंकका शाखा प्रबन्धक रुद्रप्रसाद अधिकारी लगायत बैंकका कर्मचारीहरूको सहभागितामा सवितालाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

चेक बुझ्दै सविताले सामान्य बचतबाट प्राप्त बीमा रकमले आफ्ना बालबालिकाको पालनपोषणमा सहयोग पुग्ने बताउनुभयो।

“२०७७ सालमा परिवार सुरक्षा बचत खाता खोलेर १० हजार जम्मा गरेकी थिएँ। त्यही १० हजारको बीमाबाट अहिले १० लाख पाएँ। अब बाँच्ने आशा पलाएको छ,” उहाँले भन्नुभयो।

सविताले आफूजस्तै सामान्य आयस्रोत भएका परिवारलाई भविष्यमा आइपर्न सक्ने जोखिमबाट सुरक्षित रहन परिवार सुरक्षा बचत खाता खोल्नसमेत आग्रह गर्नुभयो।

चेक हस्तान्तरण कार्यक्रममा बोल्दै नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माले परिवार सुरक्षा बचत खाताजस्ता कार्यक्रम सबै नागरिकको पहुँचमा पुग्नुपर्ने बताउनुभयो। न्यून आय भएका परिवारलाई संकटका बेला यस्ता बीमा सुविधाले आर्थिक राहत प्रदान गर्ने उहाँको भनाइ थियो।

बैंकहरू नाफा कमाउने संस्थामात्र नभई नागरिकलाई आर्थिक सुरक्षा र राहत प्रदान गर्ने कार्यक्रममार्फत सामाजिक उत्तरदायित्वमा पनि जोडिनुपर्ने उहाँले बताउनुभयो।

कुमारी बैंकले सञ्चालनमा ल्याएको ‘परिवार सुरक्षा बचत खाता’ सामान्य आयस्रोत भएका परिवारलाई लक्षित गरी तयार गरिएको बैंकले जनाएको छ। न्यूनतम १० हजार रुपैयाँ मौज्दात राखेर खोल्न सकिने यस खाताअन्तर्गत सर्तअनुसार २६ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध रहेको शाखा प्रबन्धक रुद्रप्रसाद अधिकारीले जानकारी दिनुभयो।

उहाँका अनुसार खाताअन्तर्गत दम्पतीको आकस्मिक दुर्घटना बीमा, पूर्ण शारीरिक अशक्तता बीमा, परिवारका सदस्यका लागि १८ घातक रोगविरुद्धको बीमा तथा औषधोपचारसम्बन्धी सुविधा उपलब्ध छन्।

१० हजारको सानो बचत खाताले संकटको समयमा सविताको परिवारलाई दिएको आर्थिक सहाराले बचतसँगै बीमा सुरक्षाको महत्त्वसमेत उजागर गरेको छ।

यो समाचार सेयर गर्नुहोस्
२०Shares
धादिङ अपडेट लेखकको सबै आर्टिकल