धादिङको गंगाजमुना गाउँपालिकाले ऐतिहासिक तथा पर्यटकीय स्थल गंगाजमुना माई परिसरमा लाग्ने हरिबोधनी एकादशी मेलाका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको छ।
गाउँ कार्यपालिकाको कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै आगामी मंसिर ३ र ४ गते गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी कार्यालय तथा गैरसरकारी संघसंस्थाहरूमा सार्वजनिक बिदा दिने जनाएको हो।
गाउँपालिकाको मिति २०८३ कात्तिक ३० गतेको निर्णयअनुसार मेलाको पावन अवसरमा गाउँपालिकास्तरीय सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउपालिका अध्यक्ष भक्तबहादुर लामाद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।
गंगाजमुना माई परिसरमा आदिम कालदेखि नै हरिबोधनी एकादशी व्रत मेला लाग्दै आएको छ।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस मेलामा भक्तजन तथा दर्शनार्थीहरूको उल्लेख्य सहभागिता रहने गर्दछ। सार्वजनिक बिदाका कारण सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै गाउँपालिकाले मेला सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न सबैमा हार्दिक अनुरोध गरेको छ।











