धादिङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्न प्रदेश सरकारबाट अनुमति माग गर्ने निर्णय गरिएको छ । मंगलबार बसेको जिल्ला खोप समन्वय समिति धादिङको बैठकमा सरोकारवाला निकाय बीच छलफल गरि उक्त निर्णय गरिएको हो । बैठकले ४ वटा प्रस्ताव माथि छलफल समेत गरेको छ ।
सबै स्थानीय तहबाट पूर्ण खोप सुनिश्चितता गर्ने सन्दर्भमा सबै प्रक्रिया पुरा गरीमाग गरिएको र जिल्ला खोप समन्वय समिति धादिङका पदाधिकारीहरुको प्रत्यक्ष अनुगमन, घरधुरी सर्वेक्षण गर्दा १५ महिना उमेर भित्रका सबै बालबालिकाहरुले सबै खोपहरुको मात्रा लगाएको प्रतिवेदन प्राप्त भएकोले स्थानीय तहको माग बमोजिम सबै वडा तथा पालिका घोषणा गर्न अनुमति दिने निर्णय गरिएको छ ।
त्यस्तै आधारभुत स्वास्थ्य सेवा स्थानीय सरोकारवालाको क्षेत्राधिकार भएकोले आगामी दिनमा पूर्ण खोप सुनिश्चितता र घोषणाका लागि सबै स्थानीय तहले वार्षिक योजनामा राखी बजेट विनियोजन गर्न अनुरोध गर्ने, सबै स्थानीय तह घोषणा भईसकेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्न प्रदेश सरकारबाट अनुमति माग गर्ने, स्थानीय खोप समन्वय समिति र जिल्ला स्तरीय खोप समन्वय समिति आपसमा सहयोग आदान प्रदान गर्ने निर्णय गरेको छ ।











