ज्वालामुखी गाउँपालिकाले गाई भैंसीमा लम्पी स्किन डिजिज देखिएमा उपचारको लागि पशु सेवा शाखामा सम्पर्क गर्न आग्रह गरेको छ । पालिकाले आज एक सुचना प्रकाशित गर्दै लम्पी स्किन डिजिज रोगको प्रकोप बढि रहेको हुनाले सम्पर्क गर्न आग्रह गरेको हो ।

बैशाख २० गते पालिकाले पालिकाभित्र लम्पी स्किन डिजिज देखिएको हुनाले गाई भैंसी ओसापसारमा रोक लगाएको थियो । वडा नम्बर १ र २ ले पशु सेवा शाखा तर्फकाखिल कुमारी थापा तामाङ, वडा नम्बर २ र ३ अनिल श्रेष्ठ र ४ को लागि अशोक दुवाडीलाई सम्पर्क गर्न आग्रह गरिएको छ । लम्पी स्किन गाइवस्तुमा लाग्ने एक प्रकारको बिफोर जस्तै रोग हो ।

यो रोग विश्वमा पहिलो पटक सन् १९२९ मा अफ्रिकी मुलक जाम्बियामा देखिएको थियो ।नेपालमा पहिलो पटक २०७७ सालमा देखापरेको यो संक्रमण हाल ४९ वटा जिल्लामा फैलिसकेको छ ।साथै यो रोग २०२२ मा पाकिस्तान र भारतमा समेत महामारीको रुपमा देखिएको थियो । नेपालमा पहिलो पटक २०७७ सालमा मोरङको सुन्दर हरैँचा नगरपालिकामा लम्की स्किन रोग देखा परेको थियो ।

यो रोग लाग्दा गाईभैसीमा उच्च ज्वरो सहित शरीरको भित्री तथा बाहिरी तहहरुमा गिर्खा गाठागुठी देखिने र उक्त गाठागुठीबाट पानी बग्ने तथा पाक्ने, पशु छटपटाउने र दुब्लाउदै जाने, दुध उत्पादन घट्ने, गर्भ तुहिने र मृत्यु समेत हुनसक्नेछ । यो रोग मुख्यतया लामखुट्टे, भुसुना, झिँगा, किर्ना लगायतको टोकाइबाट र संक्रमित गाईभैसीको ओसारपसार र लसपसबाट पनि सर्ने गर्दछ ।

लम्पी स्किनको ठोस उपचार नभएको हुँदा लक्षण अनुसार उपचार गर्ने, संक्रमित क्षेत्रबाट गाईभैसी ओसारपसार नगर्ने, लाम्खुट्टे, भुसुना झिंगा आदिको नियन्त्रण गर्ने र गोठ वरपर वातावरण सुख्खा र सफा राख्ने, जैविक सुरक्षा अपनाउन सुचना मार्फत् आग्रह गरिएको छ ।

Facebook Comments