
धादिङको नीलकण्ठ नगरपालिका भित्रका २९ माध्यमिक विद्यालयहरुमा विस्तृत विद्यालय स्वास्थ्य कार्यक्रम गरिएको छ । विद्यार्थीहरुलाई आकस्मीक स्वास्थ्य शिक्षा, विपद व्यवस्थापन सम्बन्धी तालिम, प्राथमिक उपचार तथा जिवनउपयोगी सिप दिने उद्देश्यले स्वास्थ्य कार्यक्रम सञ्चालन भएको हो ।
नीलकण्ठ नगरपालिकाको आयोजना तथा किर्तीगंगा मेडिकल सेन्टर काठमाण्डौंको सहयोगमा कार्यक्रम भएको हो । स्वास्थ्य सम्बन्धी सचेतनामुलक कार्यक्रम अन्तरगत अन्तिम दिन मंगलबार नीलकण्ठ नरपालिकाको वडा नम्बर २ जुरेथुममा अवस्थित लामा गुरु महादेव माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।
छिमेकी विद्यालयहरु अन्नपुर्ण आधारभुत विद्यालय, श्रीदेवी आधारभुत विद्यालय र जलदेवि आधारभुत विद्यालयका विद्यार्थीहरुलाई पनि समावेश गरि सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा खानेकुरा अड्किदा गर्नुपर्ने प्राथमिक उपचार, कुकुर बिरालो, बाँदर लगायतका जनावरले टोकेमा अनिवार्य रेविज विरुद्धको खोप लगाउनुपर्ने, सर्पको टोकाई हुँदा तुरुन्त अस्पताल जानुपर्ने कुरा, हृदयघात हुदाँ गर्नुपर्ने प्राथमिक उपचार, खाना पकाउने ग्याँस लिग भएमा तथा आगलागी भएमा गर्नुपर्ने सावधानीका उपायहरु, आगोले पोलेको घाउमा तुरुन्त धारा खोलेर चिसो पानीले भिजाउनु पर्ने विधि, वर्खायाममा पाईने विषालु च्याउ खान नहुने कुरा, जाडो याममा झ्याल ढोका बन्द गरेर आगो, कोईला, हिटर बाल्न नहुनेबारे जानकारी साथै ग्याँस गिजर प्रयोग गरेर नुहाउँदा निस्सासिएर हुने दुर्घटना लगायतका विषयमा जानकारी गराईएको थियो ।
यस्तै आगालागी, भुकम्प, चटयाङ जस्ता विपत्तिमा अपनाउनु पर्ने सावधानी तथा कुनै पनि स्वास्थ्य समस्या आईपर्दा अस्पताल गई डाक्टरको परामर्शमा उपचार सुरु गरिहाल्नुपर्ने लगायतका विषयमा विद्यार्थीहरुलाई प्रत्यक्ष अभ्यास गरि जानकारी गराईएको किर्तिगंगा मेडिकल सेन्टरका मेडिकल डाईरेक्टर डा.राम थापा क्षेत्रीले बताउनुभयो ।
यस्तै कार्यक्रममा आत्महत्या विरुद्धको सचेतना, मुख स्वास्थ्य, विभिन्न रोग सम्बन्धि सचेतना, मानसिक स्वास्थ्य, अचेत मानिसलाई बचाउने जीवनदायी सि पि आर विधि लगायत तालिममा सिकाईएको डा. क्षेत्रीले बताउनुभयो । कार्यक्रमकै अवसर संर्घषशिल बालक्लव तथा जुरेथुम आमा समुहबाट सहभागीहरुलाई खाजाको व्यवस्थापन गरेको थियो । तमु ल्होसारको अवसरमा आयोजित शुुभकामना आदनप्रदान तथा सांस्कृतिक कार्यक्रमको अवसरमा सहभागीहरुलाई खाजाको व्यवस्था गरेको हो ।