
काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खसेर मृत्यु भएका पाँच जना मलामी गएर फर्कदै गरेकाे खुलेको छ । दुर्घटनामा परी मृत्यु भएका पाँचै जना काठमाडाैंबाट बुबाको दाहसंस्कार गरी गोरखा फर्कदै थिए ।
पशुपति आर्यघाटमा बुबाकाे अन्तिम संस्कार गरेर क्रिया बस्नकाे लागि गाेरखा फर्कँदै गर्दा दुर्घटना हुँदा पाँच जनाले ज्यान गुमाएकाे प्रहरीले जानकारी दिएकाे छ ।
आज बिहान इच्छाकामना गाउँपालिका -५ मा पर्ने पृथ्वी राजमार्गको मिलधारा नजिकबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशुली नदीमा खस्दा ट्याक्सीमा सवार पाँचै जनाको मृत्यु भएको थियो । मृतक मध्ये ४ जना एकैपरिवारका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा गोरखा नगरपालिका ७ का ४१ वर्षका हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षकी अञ्जना रोकाय र ९ वर्षका बालक आगमन नगरकोटी रहेका छन् । १८ वर्षका दिवस रोकाए भने त्रिशुली नदीमा हराइरहेका छन् । उनीहरु एकै परिवारका भएको खुलेको छ ।