असोज १६ धादिङ,
मुरलीभञ्ज्याङ साना किसान कृषि सहकारीका संस्थाले आ.व. २०७४/२०७५ मा कुल १७ लाख ५३ हजार २ सय ६१ रुपैंया बराबरको नाफा आर्जन गरेको छ । वि.स.२०६६ सालमा स्थापना भएको यस संस्थाको १ हजार ८८ जना शेयर सदस्यता रहेको छ, भने संस्थाको कुल शेयर पुँजी ६४ लाख ७४ हजार ९ सय रुपैंया रहेको छ ।
यस संस्थाले प्रत्येक वर्ष शेयर सदस्यहरुलाइ व्यावसायिक, स्वरोजगार र उद्यमि बनाउनको लागि नयाँ–नयाँ कार्यक्रमहरु सञ्चालन गरिएको छ । विगतका वर्षहरुमा दलित महिला शेयर सदस्यहरुको लागि सिलाई कटाई तालिम,बाख्रा पालन तालिम, सहकारी अभिमुखिकरण तालिम, भेटेनरि तालिम, भुकम्प पश्चात जीविकोपार्जन कर्जा वितरण, डकर्मि तालिम, किसानहरुलाइ अनुदानमा कृषि बिउ वितरण, शेयर सदस्य वा एकाघरका परिवार सदस्य बिरामि भएमा एक महिनाको लागि विना ब्याज ५० हजार ऋण प्रदान तथा संस्थाको शेयर सदस्यको मृत्यु भएमा २० हजार आर्थिक सहयोग जस्ता कार्यहरु गर्दै आएको छ । यस बर्षको साधारण सभाले भने ७० बर्ष उमेर नाघेका जेष्ठ शेयर सदस्यहरुको लागि मासिक १ सय रुपैँया प्रोत्साहन भत्ता, सुत्केरी महिला सदस्यका लागि १ हजार र नवजात शिशुको लागि दुईसय रुपैंया सुत्केरी पोषण भत्ता सहितका कार्यक्रमहरु अनुमोदन गरेको छ । यस संस्थाले कृषि ,पशुपालन, उद्यम तथा व्यावसाय,अध्यायन र वैदेशिक रोजगारीका लागि ऋण प्रदान गर्ने गर्दछ । जिविको पार्जन कार्यक्रम अन्र्तगत विना धितो ५ प्रतिशत ब्याजदरमा ५० हजार रुपैंया, पशुपालन, दुग्ध, मासुजन्यका लागि धितो सहित ९ प्रतिशत ब्याजदरमा २ लाख र व्यावसायिक प्रयोजनका लागि धितो सहित १५ प्रतिशत ब्याजदरमा ६ लाख रुपैंया सम्म ऋण लगानि गर्दछ ।
यस संस्थाको आर्थिक वर्ष २०७४/०७५ सम्ममा कुल २३ लाख ७८ हजार रुपैंया भाका नाघेको ऋण लगानी रहेको छ । शनिबार सम्पन्न संस्थाको नवौं बार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट ९ सदस्यीय सञ्चालक समिति गठन गरेको छ । संस्थाको अध्यक्षमा पुनः दुर्गा दुवाडी चयन हुनुभएको हो । संस्थाका अध्यक्ष दुवाडीले आगामि दिनमा संस्थाको विकास र शेयर सदस्यहरुलाइ स्वरोजगार तथा उद्यमी बनाउनको लागि निरन्तर पहल गरिने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका प्रदेश नम्बर ३ धादिङका सांसद डा.रामकुमार अधिकारीले कृषि नै विकास र समृद्धिको आधार भएको बताउदैं किसानहरु एकजुट हुन आग्रह गर्नुभयो ।

Facebook Comments