२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

मनाङमा हिउँ चितुवा सर्वेक्षण चल्दै

मनाङमा हिउँ चितुवा सर्वेक्षण चल्दै

हमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले मनाङमा हिउँ चितुवा सर्वेक्षण चलिरहेको छ । राष्ट्रिय प्रकृति कोष (एनटीएनसी) र अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप)ले संयुक्त रूपमा मनाङ क्षेत्रमा विज्ञसहित क्यामेरा ट्रयापिङबाट हिउँ चितुवाको अवस्था, गणना र वन्यजन्तुको अनुगमन गरिने भएको हो ।

अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने दुर्लभ तथा सङ्कटग्रस्त वन्यजन्तु हिउँ चितुवाको अवस्था बुझ्न सर्वेक्षण गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्ने नारफु, ङिस्याङ, खाङ्सार, तिलिचो, गुम्साङ, भिमथाङ आसपासका उच्च हिमाली भू-भागमा गरिएको सर्वेक्षणले मनाङ हिउँ चितुवाको सम्भावित प्रमुख बासस्थानमध्ये एक रहेको विज्ञले पुष्टि गरेको उहाँले बताउनुभयो ।

मनाङको ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र हिउँ चितुवाको सम्भावित बासस्थानका रूपमा पहिचान गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार क्यामेरा ट्रयाप, पदचिह्न, मल (स्क्याट) सङ्कलन र स्थानीय गोठालाको अनुभवका आधारमा सर्वेक्षणका लागि क्यामेरा जडान गरिएको छ ।

सर्वेक्षणमा संलग्न वन्यजन्तु तथा वातावरण विज्ञका अनुसार हिउँ चितुवाको संरक्षण केवल एउटा वन्यजन्तु जोगाउने विषयमात्र नभई सम्पूर्ण हिमाली पारिस्थितिकीय प्रणाली, स्थानीय जीविकोपार्जन र भविष्यको पर्यटनसँग प्रत्यक्ष जोडिएको विषय हो ।

समुद्री सतहबाट झन्डै ३ हजार २ सय मिटरदेखि ५ हजार २ सय मिटरभन्दा बढी उचाइका मनाङ ङिस्याङ उपत्यका, भीमथाङ उपत्यका र नारफु उपत्यकालाई तीन क्षेत्रमा विभाजन गरी अध्ययन गरिरहेको भुजेलले बताउनुभयो ।

मनाङ ङिस्याङ उपत्यकामा ५७, भीमथाङ उपत्यकामा २९ र नारफु उपत्यकामा ४३ क्यामेरा जडान गरिएको छ । हिउँ चितुवाको सङ्ख्या अनुमान र पारिस्थितिकीय प्रणालीको विश्लेषणलाई समर्थन गर्न हरेक ग्रिड सेलभित्र सिकार प्रजातिको तथ्याङ्क रेकर्ड गरिरहेका छन् । क्यामेरा, ब्याट्री, मेमोरी कार्ड, पन्जा, सिलिका जेल, स्क्याट सङ्कलन ट्यूब र तथ्याङ्क रेकर्डिङ फारमलगायतका उपकरण जडान गरिएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।