जिल्लाको आर्थिक, सामाजिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रको विकास र प्रवर्द्धन गर्दै आर्थिक गतिशीलता बढाउने उद्देश्यका साथ दशौँ धादिङ महोत्सव २०८२ आयोजना हुने भएको छ । महोत्सव २०८२ माघ १५ गतेदेखि २५ गतेसम्म धादिङबेसी स्थित खुला मञ्च  सञ्चालन हुने आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । 

धादिङ उद्योग वाणिज्य संघको आयोजनामा तथा नीलकण्ठ नगरपालिकाको संरक्षण र नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौँको प्रवर्द्धनमा महोत्सव आयोजना हुन लागेको हो । आयोजकका अनुसार महोत्सवमा १ लाखभन्दा बढी दर्शक सहभागी हुने र करिब ३ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

महोत्सवमा १०० वटा व्यावसायिक स्टल, २० वटा घरेलु तथा साना उद्योगका स्टल र ४० वटा कृषि तथा अन्य उत्पादन स्टल रहनेछन् । यसअघि आयोजित धादिङ महोत्सवहरूले जिल्लामा उत्पादित वस्तुको बजारीकरण, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा व्यवसायिक वातावरणमा सकारात्मक प्रभाव पारेको आयोजकको दाबी छ ।

महोत्सवका मुख्य आकर्षण

महोत्सव अवधिभर विभिन्न विषयविज्ञसँग सरोकारवालाबीच प्रत्यक्ष अन्तरसंवाद, कृषि तथा घरेलु उत्पादन प्रदर्शनी र प्रतियोगिता, सांस्कृतिक झाँकी प्रदर्शन, स्थानीय कला–संस्कृतिको प्रवर्द्धन, भैरवी मन्दिर केन्द्रित पर्यटन प्रवर्द्धन कार्यक्रम, रमाइलो मेला तथा बाल उद्यान सञ्चालन गरिनेछ । साथै राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारबाट दैनिक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ ।

महोत्सव उद्देश्य

महोत्सवमार्फत जिल्लालाई औद्योगिक तथा व्यापारिक केन्द्रका रूपमा विकास गर्दै उत्पादित वस्तुको बजार प्रवर्द्धन, घरेलु तथा साना उद्योगलाई टेवा, कृषिको व्यवसायीकरण, पर्यटकीय क्षेत्रको विकास तथा रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ ।

महोत्सव सफल बनाउन १५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने विभिन्न उपसमिति र विषयगत समिति पनि क्रियाशील रहेका छन् । आयोजकले दशौँ धादिङ महोत्सव २०८२ लाई भव्य, सभ्य र सफल बनाउन सबै सरोकारवाला, सञ्चारकर्मी तथा जिल्लावासीको साथ, सहयोग र सहभागिताको अपेक्षा गरेको छ ।

Facebook Comments