२०८३ कार्तिक २९, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

अरब सागरमा इरानी ड्रोन खसालेको अमेरिकी सेनाको दाबी

अरब सागरमा इरानी ड्रोन खसालेको अमेरिकी सेनाको दाबी

अमेरिकाले अरब सागरमा आफ्नो विमानवाहक युद्धपोत तर्फ आउँदै गरेको इरानी ड्रोन खसालेको दाबी गरेको छ । अमेरिकी सेनाका अनुसार हिजो त्यो ड्रोनलाई स्टेल्थ लडाकु विमान प्रयोग गरी आत्मरक्षाका लागि खसालिएको हो ।

अमेरिकी केन्द्रीय कमाण्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले जहाज इरानको तटबाट झन्डै ५ सय माइल टाढा रहेको अवस्थामा ड्रोन नजिकिएको र यसको उद्देश्य स्पष्ट नभएकाले कारबाही गरिएको बताउनुभयो । घटनामा कुनै पनि अमेरिकी सैनिक वा उपकरणमा क्षति नभएको खबरमा उल्लेख छ ।

यो घटना वासिङ्टन र तेहरानबीच तनाव चर्किरहेको समयमा भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो परमाणु कार्यक्रम सीमित गर्ने सम्झौतामा सहमत नभए सैन्य कारबाही हुन सक्ने चेतावनी दिँदै आउनुभएको छ ।

व्हाइट हाउसकी प्रेस सेक्रेटरी करोलाइन लेभिटले राष्ट्रपति ट्रम्प कूटनीतिलाई प्राथमिकता दिने पक्षमा रहेको, तर सबै विकल्प खुला रहेको बताउनुभएको छ । यसैबीच, इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले इरानमाथि कुनै पनि आक्रमण भए क्षेत्रीय युद्ध शुरू हुने चेतावनी दिँदै आउनु भएको छ ।

ड्रोन घटनाबारे इरानले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन । क्षेत्रीय तनावकाबीच अमेरिका र इरानबीच हुने सम्भावित वार्तालाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेका छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।