
असोज ३० ।
बडा दशैको सातौ दिन अन्तर्गत आज फुलपाती हिन्दु नेपालीहरुले घरघरमा फूलपाती भित्रयाउदै छन् ।
दुर्गा भवानीको प्रतिमा राखिएको दशैघरमा फूलपातीको शुभसाइतका रुपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्रयाइन्छ । फूलपाती गोरखा दरबारबाट धादिङको जीवनपुर हुँदै काठमाण्डूको जमलसम्म ल्याउने गरिन्छ ।
गुरुज्यूको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, निजामती सेवाका उच्चपदस्थ अधिकारीहरु, आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङगारिएका कल्स्यौडीहरु र सांस्कृतिक नाचगानसहितको लावालस्करले जमलमा ल्याइएको फूलपातीलाई हर्षबढाइँका साथ हनुमानढोकामा भित्रयाउने चलन छ ।
घटस्थापनाका दिनदेखि नै दशै सुरु हुने भए पनि दशैको विशेष चहलपहल भने आजैदेखि घरघरमा सुरु हुन्छ । फूलपातीदेखि सरकारी कार्यालय पनि बन्द हुने छन् । आजबाट हिन्दु नेपालीहरु परिवारसँग बसेर दुर्गा भवानीको पूजा गरेर हर्सोल्सासका साथ दशै मनाउन जुट्ने भएका छन् ।